डा. रक्षा थापाः हेटौंडाबाट बेलायतसम्मको प्रेरणादायी यात्रा



जब कोही छोरी मान्छे बाल्यकालदेखि आत्मनिर्भर बन्ने सपना देख्छिन् र त्यो सपना पुरा गर्न जीवनका हरेक पाइलामा संघर्ष गर्छिन्, तब त्यो संघर्ष मात्र व्यक्तिगत उपलब्धि हुँदैन, त्यो त हजारौं युवाका लागि प्रेरणाको एउटा गतिशील उदाहरण बन्दछ । हेटौंडामा जन्मिएकी डा. रक्षा थापा त्यही उदाहरण हुन् जो साधारण परिवेशमा जन्मिएर असाधारण यात्रामा निस्किइन्।
वाल्यकाल र आत्मनिर्भरताको बीउ
शिक्षित परिवारमा हुर्किएकी रक्षा थापाको बाल्यकाल शिक्षाले भरिएको थियो। उनका आमाबाबु दुवै पेशाले शिक्षक थिए । आर्थिक रूपले सक्षम परिवारकी छोरी हुँदाहुँदै पनि उनले कहिल्यै सुविधाभोगी जीवन रोजिनन् । प्लस टु अध्ययनकै दौरानबाट उनले आत्मनिर्भर बन्ने अठोट गरेकी थिइन्। कलेज पढ्दै पार्टटाइम काम गर्दै आफ्नो खर्च आफैं चलाउने उनको निर्णयले समाजमा एक उदाहरण प्रस्तुत गरयो, जहाँ छोरी मान्छे मात्र घर र भान्सासम्म सीमित हुन्छन् भन्ने मानसिकता भत्काउन थालिन् ।
बेलायतको चुनौतिपूर्ण यात्रा
सन् २०१२ मा आफ्नो श्रीमान् राज पाण्डेसँगै उच्च शिक्षा अध्ययनका लागि बेलायत आइपुगेकी रक्षा, त्यहीँबाट एउटा नयाँ अध्याय सुरु गर्छिन्। एमबीए इन ह्युमन रिसोर्स म्यानेजमेन्ट पढ्न बेलायत आइपुगेसँगै उनी आफ्नो सपना पछ्याउन अझै दृढ भइन्। तर, त्यो समय त्यति सजिलो थिएन । सन् २०१२ को बेलायतमा विद्यार्थी भिसा पाउन कडा प्रक्रिया थियो, बैंक स्टेटमेन्टको कडाइ, कलेजहरू अचानक बन्द हुने र कामको समय २० घन्टा सिमित हुने जस्ता समस्याले धेरैलाई निराश बनाएको थियो। उनी पनि त्यही चुनौतीको सामना गर्दै थिइन्। भाषा कठिनाइ, सांस्कृतिक आघात (कल्चरल सक), आर्थिक संकट सबै उनले नजिकबाट भोगिन्। तर तिनै संघर्षहरूले उनलाई अझ बलियो बनायो। उनी कहिल्यै हारिनन्, उल्टै ती सबै कठिनाइलाई सशक्त ढंगले आत्मसात् गर्दै अघि बढिन्। उनले धेरै वटा काम गरिन् र हप्तामा सामान्य भन्दा बढी नै घन्टा काम पनि गरिन् परिवारको दायित्वका कारण ।
कफी सपनादेखि करियर निर्माणसम्म
आज हामी स्टारबक्स या कोस्टामा कफी पिउनु सामान्य मान्छौं, तर रक्षा थापाका लागि बेलायत आइपुगेको शुरुवाती दिनमा त्यो पनि सपना नै थियो। एउटा सामान्य नेपाली विद्यार्थीका लागि त्यति बेला पार्ट टाइम जागिर पाउनु नै ठूलो कुरा थियो। उनले सुरुका दिनहरूमा रेस्टुरेन्ट, केयर होम, किचेन पोर्टरदेखि अनेक काम गरिन्। श्रीमान् श्रीमती मिलेर दुःख गरिरहँदा उनीहरुमा एउटै सपना थियो – आत्मनिर्भर बन्नु, समाजमा केही योगदान गर्नु। उनीहरुको स्टारबक्समा कफी खाने त एउटा सपना हुने गर्दथ्यो किनकि बेलायतमा त्यो बेला अहिलेको भन्दा धेरै नियम कानून र कडा मिहेनत गर्नुपर्ने अवस्था थियो ।
शिक्षा र करियरमा अविरल यात्रा
एमबीए सकिएपछि उनले ह्युमन रिसोर्स (एचआर) क्षेत्रमा नै जागिरको खोजी सुरु गरिन्। आफ्नो रुचि र शैक्षिक योग्यता अनुसार एक निजी हेल्थकेयर कम्पनीमा स्पोन्सरसिप प्राप्त गरिन्। त्यसपछि उनले एसीसीए (पार्ट क्वालिफाइड) को रुपमा समेत आफूलाई प्रमाणित गरिन्।
परिवार र व्यवसाय सँगसँगै
शिक्षित परिवारमा हुर्किएकी उनले सानैदेखि विद्यावारिधि (पिएचडी) गर्ने सपना बोकेकी थिइन्। त्यो सपना उनले पुरा गरिन् बर्नमथ युनिभर्सिटीबाट हेल्थ एण्ड सोसल साइन्समा विद्यावारिधि हासिल गरेर। यसबीचमा दुई सन्तानको जन्म, परिवारको जिम्मेवारी, श्रीमानसँग मिलेर व्यवसाय सञ्चालन, शिक्षा र समाजसेवा, सबै उनको जीवनको अङ्ग बने। सन् २०१८ मा ‘माया सपोर्टेड लिभिंग’ सुरु भयो, जुन २०१९ बाट औपचारिक रुपमा सञ्चालनमा आयो। त्यसपछि माया इभेन्ट्स, माया क्रिकेट क्लव, राष्ट्रिय पोशाक घर यूके जस्ता व्यवसायिक सफलता क्रमशः सुरु हुँदै गए।
व्यवसाय मात्र होइन, समाजसेवा पनि
व्यवसायको सफलता सँगसँगै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय भइन्। कोभिड १९ को कठिन समयमा सहयोगका हातहरू फैलाइन्। नेपालमा बाढी, भूकम्प, वा अन्य विपद्का बेला चुप लागिनन्, बरु सहयोगी बन्न पुगिन्। भर्खरै मात्र नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बेलायतमा ल्याएर सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा ‘माया टिम’ले लिएको थियो, जुन सम्पूर्ण नेपाली डायस्पोराको गर्वको कुरा थियो । माया इभेन्ट्समार्फत उनले लाफ्टर फर लाइफ जस्ता भव्य कार्यक्रम पनि आयोजना गरिन् जहाँ महानायक राजेश हमाल, गायक नवीन के भट्टराई, कमेडियन सन्दीप क्षेत्री लगायतलाई बेलायत ल्याएर नेपाली समुदायलाई मनोरञ्जन मात्र होइन, एकताको सन्देश पनि दिन सफल भइन् उनी ।
नेतृत्वको अर्को पाटो एनआरएनए यूके उपाध्यक्ष पदको उम्मेदवार
अहिले डा. रक्षा थापा एनआरएनए यूकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएकी छन् । उनले आजसम्म कुनै पनि राजनीतिक पार्टीमा संलग्नता जनाएकी थिइनन्। तर एनआरएनए यूके मार्फत समाज परिवर्तन र आवाज उठाउने सुरुवात गर्दैछिन् रक्षा ।
उनी भन्छिन्– “राजनीति भन्ने बित्तिकै डर्टी गेम भन्ने बुझाइ छ। तर म त्यो बुझाइ परिवर्तन गर्न चाहन्छु। मैले धेरै नेपालीको पीडा नजिकबाट देखेकी छु र आफ्नो संघर्षको बेला बेलायतमा हुने सुखदुःखका बारेमा राम्रोसँग अनुभव गर्न पाएको छु। अब म त्यही पीडामा मलम लगाउने सम्पूर्ण बेलायतवासी नेपालीहरुको सेवक बन्न चाहन्छु।”
५० भन्दा बढी नेपालीलाई रोजगार
आज उनको माया कम्पनीहरुमा ५० भन्दा बढीले रोजगार पाएका छन्, जसमा ९० प्रतिशत कर्मचारी नेपाली हुन्। एचआर कम्प्लायन्स, हेल्थ एण्ड सेफ्टी जस्ता जिम्मेवारी उनले स्वयं हेरिरहेकी छन्। सामाजिक संस्थाहरूमा पनि उनी उत्तिकै क्रियाशील छिन् स्लाउ नेपलिज कम्युनिटीको कार्यकारिणी सदस्य, क्षेत्री समाज बेलायतको सदस्य, सोसाइटी अफ नेपलिज प्रोफेशनल्स् यूकेको आजीवन सदस्य आदिबाट ।
सामाजिक सहयोगमा अगाडि
रक्षाले विमानस्थलमा अलपत्र परेका, विदेशमा आफन्तविहीन भएर रुँदै गरेका नेपालीलाई आफैंले घरमा राखेर खान बस्न दिएको उदाहरण थुप्रै छन्। एनआरएनए यूकेको भोलिको भविष्य बदल्न सक्ने क्षमता राख्ने यस्तो महिला उम्मेदवारलाई नजरअन्दाज गर्नु भनेको बाहिर साथीभाइसँग ‘चौरासी व्यञ्जन’ को कुरा गर्नु र रेस्टुरेन्टमा पुगेर उहीँ सधैं खाने ‘मोमो’ र ‘चाउमिन’ मगाउनु जस्तै हो ।
निष्कर्ष– परिवर्तनको झिल्को
अन्त्यमा, एउटा यथार्थतर्फ फर्कौं – डा. रक्षा थापा कुनै साधारण नाम होइन, उनी हेटौंडाबाट बेलायतसम्मको यात्रामा आफूलाई सिद्ध गरेर देखाएकी असाधारण प्रेरणा हुन्। अहिले हाम्रो सामू उभिएकी महिला मात्र होइनन्, उनी संघर्षको अर्को नाम, सफलताको परिभाषा, र सेवाको स्वरूप बन्न सफल भएकी छिन्। यति धेरै व्यवसाय माया सर्पोटेड लिभिंग, माया इभेन्ट्स, माया क्रिकेट क्लव, राष्ट्रिय पोशाक घर यूके जस्ता कम्पनीहरुको एचआर र कम्प्लायन्स ह्याण्डल गर्नु, कम्पनीहरु सफलतापूर्वक सञ्चालन गर्दै विद्यावारिधिसम्मको यात्रा तय गर्दै ५० बढी नेपालीलाई रोजगारी प्रदान गर्दै, अनि समाजसेवामा समर्पित भएर विभिन्न च्यारिटी तथा सँस्थाहरुमा साथ, सहयोग र सहकार्य गर्दै अमिट छाप छोड्ने महिलालाई हामीले नचिन्ने हो भने अनि कसलाई चिन्ने?
आज उनी एनआरएनए यूकेको उपाध्यक्ष पदको उम्मेदवार बनेर हामी सबै नेपालीका हकहितका लागि अगाडि आइरहेकी छिन् – त्यो पनि कुनै प्रचारका लागि होइन, बरु ‘काम गरेर देखाउने’ प्रतिवद्धतासहित । के हामी अझै पुराना प्रवृत्तिहरूमा अड्किरहन चाहन्छौं? के हामीले फेरि पनि गफ दिने तर काम नगर्ने नेतृत्वलाई रोज्ने हो? या, हामी यस्तो उम्मेदवारलाई समर्थन गर्छौं, जसको विगतले भोलिको विश्वास दिलाउँछ? के तपाईंलाई लाग्दैन एनआरएनए यूकेको आगामी पुस्तालाई नेतृत्व गर्ने क्षमता यस्तै नारी शक्तिमा छ, जसले व्यवसाय, शिक्षा र समाज सबैलाई सँगै सम्हाल्न सक्छिन् ? हामी प्रायः परिवर्तनको कुरा गर्छौं, तर परिवर्तन गर्ने बेला आउँदा हाम्रै सोच झस्किन्छ। अब समय आएको छ सोच परिवर्तन गर्ने, नेतृत्व परिवर्तन गर्ने। र, त्यो परिवर्तनको नाम हो डा. रक्षा थापा ।
यदि तपाईं साँच्चै परिवर्तन चाहनुहुन्छ भने परिवर्तनको झिल्कोलाई समर्थन गर्नुहोस्। एनआरएनए यूकेमा सामाजिक रुपान्तरणको अभियानलाई सशक्त बनाउनुहोस्। कहिल्यै पनि गद्दारी नगर्ने, जिम्मेवारी बाट नभाग्ने, युवाको भावना बुझ्ने, र नेपाली समुदायको आवाज बन्न सक्ने पात्र अहिले हाम्रो सामु उभिएकी छिन् । अब हाम्रै पालो हो, उनलाई समर्थन गर्ने, साथ दिने, र परिवर्तनमा सहभागी हुने। यस्तो उम्मेदवार, यस्तो ऊर्जा, यस्तो दृष्टिकोण फेरि कहिले आउला? के हामी फेरि गुमाउने त? होइन। अब होइन। अब परिवर्तनका लागि – हामी सबैले मिलेर भन्नेछौं – ‘हामीसँग छिन्, डा. रक्षा थापा ।’
-सुशील गौतम (हाल बेलायत)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५