शनिबार, १२ जुलाइ, २०२५
04:03 | ०८:४८

हसिनालाई मानवता विरुद्धको अपराधमा मुद्दा

रासस/एएफपी जुलाइ ११, २०२५

ढाका, असार २६ गते । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गरेको र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिकरूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने प्रयास गर्दा सन् २०२४ जुलाई र अगस्टका बीचमा एक हजार ४ सय मानिस मारिएका थिए । 

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले हसिनाको अपदस्थ सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरूलाई मुद्दा चलाइरहेको छ ।

“पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चौधरी अब्दुल्लाह मामुनले मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको छ”, आइसिटीका प्रमुख अभियोजक मुहम्मद ताजुल इस्लामले पत्रकारहरूलाई भने । ‘जुलाई-अगस्ट विद्रोहको समयमा भएका अपराधहरूबारे आफूसँग भएका सबै जानकारी’ दिँदै मामुनले साक्षीका रूपमा काम गरेर अदालतलाई सहयोग गर्न सहमत भएको इस्लामले बताए ।

अदालतले मामुनको सुरक्षा सुनिश्चित गर्न छुट्टै आवासको व्यवस्था गर्न अनुमोदन गरेको छ । न्यायाधिकरणले बिहीबार हसिना र उनका गृहमन्त्री असादुज्जमान खान कमालमाथिका आरोपहरू खारेज गर्न वकिलहरूको अनुरोध पनि अस्वीकार गरेको छ । दुवै हसिना र कमाललाई सोही मुद्दामा औपचारिक रूपमा अभियोग लगाइएको छ ।

हसिना र कमालका राज्यद्वारा नियुक्त वकिल आमिर हुसेन भने आशावादी छन् । “मुद्दा प्रारम्भिक चरणमा छ र अन्य धेरै चरण छन्”, उनले भने । 

विरोध प्रदर्शनले आफ्नो १५ वर्षको शासन समाप्त गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट भारत भागेकी थिइन् । उनले ढाका फर्कने प्रत्यर्पण आदेशको अवहेलना पनि गरेकी छन् । ढाकामा उनको अनुपस्थितिमा जुन १ मा मुद्दा सुरु भएको थियो । हसिनाले आइसिटीमा कम्तीमा पाँचवटा आरोपको सामना गरिरहेकी छन् । 

यसमा ‘जुलाई विद्रोहको समयमा सामूहिक हत्याका लागि उक्साउने, प्रेरणा गर्ने, संलग्नता, सहजीकरण, षड्यन्त्र र रोकथाम गर्न असफल हुने’ समावेश छन् । 

अभियोजकहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन् । उहाँलाई जुलाई २ मा छुट्टै मुद्दामा अदालतको अवहेलनाको दोषमा दोषी ठहराइएको थियो, जसमा छ महिनाको सजाय भएको थियो । फरार पूर्वमन्त्री कमाल पनि भारतमा रहेको विश्वास गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू