एनआरएनए यूके उपाध्यक्ष, महासचिव हुँदै नेतृत्व लिन कस्सिएका खरेलसँग यस्तो छ रोडम्याप (भिडियो)



लन्डन- इंग्ल्याण्ड नटिङहाम निवासी युवा व्यवसायी तथा एनआरएन अभियन्ता गोविन्द खरेल एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका आकांक्षी छन् ।
जुलाई २६ तारिख शनिबार अनलाइन माध्यमबाट एनआरएनए यूके निर्वाचन हुंदैछ । भोलिपल्ट २७ जुलाईमा अधिवेशन तथा निर्वाचित कार्यसमितिको घोषणासभा हुने कार्यक्रम छ ।
गुल्मी वामी टक्सारका स्थायी बासिन्दा खरेल सिंगापुर, हल्याण्ड हुंदै सन् २०१३ मा उच्च शिक्षाका लागि बेलायत आए । बेलायत आएदेखि मिडल्याण्डको नटिङहाम बस्दै आएका उनी पेशाले आइटी विज्ञ हुन् र रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । उनको ५ दाजुभाईका सबै परिवार बेलायतमै छन् ।
नेपाली समाज नटिङहामको महासचिव र अध्यक्ष भएपछि एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदको संस्थापक सचिव (०१९-०२१) भए उनी ।
एनआरएनए यूकेको २०२२ देखि २०२३ मा उपाध्यक्ष र २०२३ देखि २०२५ कार्यकाल अर्थात अहिले महासचिवको जिम्मेवारीमा रहेका उनी अब संस्थाको नेतृत्व लिन मैदानमा उत्रिएका छन् ।
अध्यक्षको दावी गर्दै गर्दा उनले आफ्ना खास एजेण्डाहरु वंशजको नेपाली नागरिकता निरन्तरता, एनआरएनए यूकेबीच एकता गरि सामाजिक सौहाद्र्रता कायम गर्ने, राज्य समन्वय परिषद र एनसीसीबीच एकता र प्रगाढ सम्बन्ध, नयां र पुरानो पुस्तालाई एनआरएनए यूकेभित्र अटाउन प्रयत्न, एनसीसी र आइसीसीबीच द्धिविधा र दुरी बढिरहंदा व्यवहारिक बनाइ विधान संशोधन गर्ने उनको अठोट छ ।
त्यस अलवा मातृभूमिको समृद्धि र आपतविपतमा साथ दिने, गोर्खा मुद्दामा पहल र ऐक्यद्धता, धार्मिक, सामाजिक, जातीय संघसंस्थाहरुबीच सबैको साझा संस्थाका रुपमा एनआरएनए यूकेलाई स्थापित गर्न पहल गर्ने उनको प्रतिवद्धता छ । विदेशमा रहेको युवा पिंढीलाई मातृभूमिसंग जोडिने वातावरण बनाउन आवाज उठाउने पनि उनको प्रण छ ।
एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिन किन अगाडि सरे उनी ? प्रश्नमा खरेलको प्रष्टिकरण छ, ‘म एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको संस्थापक सचिव, एनसीसी उपाध्यक्ष हुंदै अहिले महासचिव छु । ६ वर्षको कार्यावधिमा मैले संस्थालाई गहिराइमा बुझ्ने अवसर पाएं । राज्य परिषद, एनसीसी र आइसीसीको मर्म के हो, समस्या र स्थिति कस्तो छ ? देशदेखि बाहिर बस्दाको समस्या के छ ? के कुरा सम्बोधन गर्नुपर्छ त्यो बुझ्न पाएं । लामो अनुभव हासिल गरेकाले दक्ष नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास लिएर अगाडि बढेको छु ।’
एनआरएनए यूके बेलायतका विभिन्न संघसंस्थामध्ये अभिभावक संस्था मानिन्छ । तर, अहिले यसप्रति नकारात्मक प्रचार प्रसार छ । विभाजन, लडाईं छ । यसलाई निवारण गरेर संस्थाको खास उद्देश्य र महत्व बुझाउने कोशिस गर्ने खरेलले बताए ।
‘सूचना प्रविधिको जमाना छ, यसमा मेरो विज्ञता एनआरएनए यूकेलाई दक्ष बनाउने दिशामा लगाउनेछु । नेपाली युवालाई कला संस्कृति, परम्परा सिकाउन ध्यान दिनेछु । संघलाई ग्रासरुटसम्म लाने मेरो सोच छ’, उनले भने ।
भूतपूर्व गोर्खाहरुले समानताका लागि लडेको दशकौं भइसकेको छ । उनीहरुका समान पेन्सन लगायत माग सम्बोधनका लागि बेलायत र नेपाल सरकारसम्म आवाज बुलन्द गरेर साथ दिने प्रतिवद्धता पनि खरेलले गरेका छन् ।
एनआरएनए यूके विभाजनले उनको मन पनि कुंडिएको छ । कुनै बेला संगै उठबस, काम गरेका साथीभाई अहिले तितरबितर छन् । तर, अब टुटेर होइन जुटेर जानुपर्छ भन्ने उनको मान्यता छ । ‘अहिले नेतृत्व लिन चुनौति भन्दा पनि सम्भावनाका रुपमा लिएको छु’, उनले भने, ‘एनआरएनएको आवश्यकता र महत्व धेरै छ । देशसंग जोडेर लेजाने एकमात्र संस्था हो यो । अहिलेसम्म बोलेका एजेण्डा पूरा गर्दै आएको छु । भाषणभन्दा पर्दा पछाडिबाट काम गर्न बढी विश्वास गर्छु । अर्जुनदृष्टि राखेर काम गर्छु । मलाई एकपटक नेतृत्वमा आउन सबैबाट सहयोग अपेक्षा गरेको छु ।’
हेरौं नेपालीलिंकसंगको भिडियो संवादः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५