लन्डनमा नर्सिङ एसोसिएसनको १७ औं वार्षिक साधारणसभा तथा तीज सेलेब्रेसन



लन्डन । नेपाली नर्सिङ एसोसिएसन यूकेले अगष्ट २३ मा आफ्नो १७ औं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम गरेको छ ।
साउथ ह्यारोस्थित गोल्डेन सीप रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा केही नर्सहरू भौतिक रुपमा उपस्थित थिए भने केही अनलाइनमार्फत सामेल भएका थिए ।
साधारणसभामा सचिव प्रजु सापकोटाले ‘हेल्थ एण्ड सेफ्टी ब्रीफ’ गर्दै स्वागत मन्तव्य दिएपछि कार्यक्रम अगाडि बढेको थियो ।
साधारणसभामा अध्यक्ष रस्मिता दर्लामीले वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। दर्लामीले कयौं सदस्यहरु स्वास्थ्य समस्या र पारिवारिक दायित्वका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जनाउंदै अन्य सहभागी/सहयोगी सबैप्रति आभार व्यक्त गरिन् ।
अध्यक्ष रस्मिता दर्लामीले एसोसिएसन अझ धेरै नर्सहरूसम्म पुग्न बाँकी रहेको र यसको पहुँच विस्तार गर्न तत्काल सहयोगको आवश्यकतामा जोड दिँदै सम्पूर्ण नेपाली समुदायलाई एसोसिएसनको उपस्थिति र सेवाबारे जागरूकता जगाउन मद्दत गर्न आह्वान गरिन् । उनले सामूहिक जिम्मेवारीलाई प्रकाश पार्दै आवश्यक सहयोग प्राप्त गर्न थप नर्सहरूसँग सम्पर्क गर्नुको महत्त्वमा जोड दिएकी थिइन् ।
कार्यकारी सदस्य आशा धौगोडाले एक वर्षे शैक्षिक गतिविधि प्रस्तुत गरिन् । त्यसपछि वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेले एसोसिएसनले गरेका अन्य पहलहरु समेट्दै प्रतिवेदन प्रस्तुत गरिन् । वार्षिक साधारण सभामा टिप्पणीसहित विधान संशोधन गरिएको थियो ।
साधारण सभापछि एसोसिएसनले दोश्रो चरणमा महिलाहरुलाई सम्मान गर्ने परम्परागत हिन्दू पर्व तीज मनायो जसको नेतृत्व कार्यकारी समितिका तर्फबाट बिनु र सृजनाले गरेका थिए ।
कार्यक्रमको सुरुवात प्रमुख अतिथी सरिता न्यौपाने घिमिरे (बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेकी श्रीमती) र अध्यक्ष रस्मिताले मैनबत्ती प्रज्वलन गरेर गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।
सो अवसरमा तीजको महत्वबारे प्रकाश पारिएको थियो । उक्त उत्सवमा अल्पना अधिकारीको भावपूर्ण तीज गीत र बिनुको आकर्षक नृत्यले सहभागी मन्त्रमुग्ध भए ।
प्रमुख अतिथि श्रीमति घिमिरेले नेपाली कला संस्कृतिको संरक्षणमा जोड दिंदै शुभकामना दिइन् । अध्यक्ष दर्लामीले कार्यक्रममा प्रायोजन गरेका ए स्टार फाइनान्सियल सोलुसन यूके, हेज मोर्गेज, मेड्याक्स ओएससीइ एकेडेमी, भट्टी रेष्टुरेन्ट, मायाका राज पाण्डे, थजीना ब्युटी पार्लर इलिङ रोडसहित पाहुनाहरू र सहयोगीप्रति कृतज्ञता व्यक्त गरिन्।
कार्यक्रममा वर्तमान तथा पूर्व अध्यक्षहरुद्वारा केक काटेर एसोसिएसनको १७ औं वार्षिकोत्सव समेत मनाइयो । सो अवसरमा गायिका एवं वरिष्ठ सामुदायिक नर्स शर्मिला बर्देवाले गीत गाइन् ।
अध्यक्ष दर्लामीले टिमवर्क र समर्पणले कार्यक्रम सफल बनाएको भन्दै यसले एसोसिएसनका सदस्यहरुबीच एकता र लचिलोपनलाई प्रतिबिम्बित गरेको बताइन् ।
एनएचएस इङ्गल्याण्डका निर्देशक भिनिस थोमसले नर्सहरू र समुदायमा एसोसिएसनको योगदान र विशेष गरी हालै नेपाल सरकारलाई मितेरी बर्थिङ सेन्टर हस्तान्तरणको प्रशंसा गरिन् ।
सो अवसरमा एसोसिएसनले एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी र महिला संयोजक बिनु लामिछानेलाई पुष्पगुच्छासहित बधाई दिएको छ । उनीहरु दुवै संस्थाको आजीवन सदस्य हुन् । एसोसिएसनले आफ्ना लागि एनआरएनए यूकेको सहयोग र ऐक्यवद्धताप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
त्यसैगरि, फ्रिम्ली हेल्थ एनएचएस फाउन्डेसन ट्रस्टमा क्रिटिकल केयरमा परामर्शदाता नर्स एवं बेलायतको रोयल कलेज अफ नर्सिङमा क्रिटिकल एवं पेरियोपरेटिभ केयरका लागि व्यावसायिक नेतृत्व सुमन श्रेष्ठ ‘एमबीई’ लाई पनि विश्व क्रिटिकल केयर नर्सेस महासंघको मानार्थ दूत मनोनित गरिएकोमा प्रशंसा गरिएको छ।
एसोसिएसनले स्वादिष्ट खानाको व्यवस्था मिलाउने गोल्डेनसीपका सन्चालक देव गुरुङ, आइटी सहयोगी राजेन्द्र अधिकारी एवं अकाउन्टेन्ट समीरनाथ प्याकुरेललाई समेत उनीहरुको सहयोगका लागि धन्यवाद दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५