सोमबार, २५ अगस्ट, २०२५
18:56 | २३:४१

लन्डनमा ऐतिहासिक बन्यो नेपाली मेला, हालसम्मकै उल्लेख्य सहभागिता

नेपाली लिङ्क अगस्ट २५, २०२५

लन्डन । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स आइतबार नेपालमय बन्यो ।

विदेशी भूमिमा नेपालको सांस्कृतिक विविधता झल्किएको क्षण थियो त्यो । बेलायतस्थित ४४ नेपाली संघसंस्थाका विभिन्न जातजाती र समुदायलाई प्रतिनिधित्व गर्ने झांकीमा देखिन्थ्यो धार्मिक, सांस्कृतिक र पारम्परिक चित्र । उनीहरुले देखाए मौलिक रहनसहन र भेषभूषा ।

मेलामा तमुहरुको ट्होटे, नेवार जातीको सापारु (गाइजात्रा) अनि खिं, धिमे र धाः बाजामा घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच), लिम्बुहरुको हाक्पारे, धान नाच र च्याब्रुङदेखि किरात राईहरुको साकेला प्रमुख आकर्षण बने ।

परम्परागत डोको, नाम्लो, स्याखु, हलो जुवा, सोली बोकेर आएका मगर जातीले देखाए कौरा, सारंगा, थाली, टप्पा र मारुनी ।

पासा पुचः गुथिले ४० जनाको सहभागितामा मौलिक धिमे नाचको उत्कृष्ट प्रस्तुति देखाएको थियो । बन्टओर्क नेपाली समाजका तर्फबाट केयरसिंह गुरुङको संयोजनमा स-साना बालबालिकाले प्रस्तुत गरेको सारंगी र मादलको प्रस्तुतिले पनि धेरैको मन जित्यो ।

‘मिनी नेपाल’ बनेको चर्चित अनि महंगो उक्त बेलायती खेल भेन्यू झण्डै १३ हजार दर्शकले खचाखच थियो । नेपाली खाना, च्यारिटी र अन्य व्यापारिक गरि ७५ स्टलमा किनमेल र खान दिनभर झुम्मिरहे आगन्तुक । यसपटकको नेपाली मेला हेर्न बेलायतस्थित विभिन्न कुटनीतिक मुलुकका प्रतिनिधिसंगै दक्षिण कोरियाली र उत्तर कोरियनहरुको समूह समेत आएको थियो ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले आयोजना गरेको १६ औं नेपाली मेला ऐतिहासिक बन्दै सकिएको छ ।

मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट भएर पासा पुचः गुथि यूके प्रथम बन्दै ११०० पाउण्डसहित एम्बासडर कप जित्यो भने किरात याक्थुङ चुम्लुङ यूके दोश्रो र किरात राई यायोख्या यूके तृतीय बने ।

उत्कृष्ट झांकीमा मगर संघ यूके प्रथम, पासा पुच गुथि यूके दोश्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए । झांकीको निर्णायक मण्डलमा साहित्यकार डा. रुपक श्रेष्ठ, बिएफबिएस गोर्खा रेडियो यूकेका स्टेशन म्यानेजर योगराज राई, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने र अभिनेत्री सृजना सुब्बा थिए ।

त्यसैगरि, उत्कृष्ट सांस्कृतिक नृत्य प्रतियोगितामा ४० जना डान्सरहरुको घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच) बाट पासा पुचः गुथि यूके प्रथम भयो भने तनहुं समाज यूके दोश्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए । नृत्यको निर्णायक मण्डलमा गुरुङ चलचित्र अभिनेत्रीहरु माया गुरुङ, एन्सर्ज तमु, मोडल सविना गुरुङ, गायक कृष्ण रेउले र कोरियोग्राफर कविता घर्तीमगर गुरुङ थिए ।

मेलाका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले सन् २००९ देखि शुरु मेलाले नेपालीको मन, मुटु र नेपालको सांस्कृतिक विविधता यूके ल्याएको बताए ।

‘नेपालीहरु जहां जान्छन्, आफू संगै नेपाल लिएर जान्छन् भन्ने प्रमाण यो हो’, उनले भने, ‘बेलायतको यो भूमिमा नेपाललाई विविध र ऐतिहासिक रुपमा प्रस्तुत गरेर तमुधिं यूकेले इतिहास रचेको छ ।’

नेपालले अहिले आर्थिक उन्नततिको एजेण्डामा काम गरिरहेको बताउंदै राजदूत घिमिरेले बेलायत बस्ने प्रत्येक नेपालीलाई कम्तीमा तीनजना बेलायतीलाई नेपाल लैजान पहल गर्न पनि आग्रह गरे ।

नेपालको उन्नति, समुन्नतिमा बेलायतका नेपालीको उल्लेख्य योगदान रहेको भन्दै उनले दोश्रो पुस्तालाई पनि नेपालसंग जोड्न अनुरोध गरे ।

उज्यालो नेपाल अभियान लिएर विदेश भ्रमणमा निस्किएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि लन्डन भ्रमणमा यस्तो ठूलो मेलाको आतिथ्य ग्रहण गर्न पाउंदा प्रफुल्ल भएको बताउंदै मेलाले राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ को भावनालाई प्रतिनिधित्व गरेको बताए ।

‘विदेशमा तपाईंमात्र आउनु भएको छैन् । आफ्नो कला संस्कृति, भाषा, भेषभूषा पनि ल्याउनु भएको छ’, उनले भने, ‘तपाईंहरुले नेपालीको एकता र पहिचान देखाइरहनु भएको छ । यो नेपालले गौरव गर्नुपर्ने विषय हो ।’

उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको बताउंदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे। उनले “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको बताए।

उनले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताउंदै उक्त अभियानमा साथ र सहयोग दिन आग्रह पनि गरे।

आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेलाको १६औं संस्करणलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे ।

लन्डनको नेपाली मेलामा पूर्वदेखि पश्चिमसम्मको नेपालको विविधतापूर्ण संस्कृति एउटै मञ्चमा देख्न पाइने एक मात्र मञ्च बन्न सफल भएकोमा आयोजकलाई गौरव लागेको उनले बताए। बेलायतमा नेपाली कला, संस्कृति तथा परम्परालाई जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आफूहरुको प्रयासमा साथ दिन अध्यक्ष गुरुङले सिंगो नेपाली समुदायलाई आव्हान गरे ।

मेला संयोजक तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिंदै सहयोगी सबैलाई धन्यवाद दिए । उनले नेपाली मेलामार्फत् विदेशमा हुर्किएको नेपालीको नयाँ पुस्ता र विदेशी समुदायमाझ समेत नेपाली कला, संस्कृति प्रवर्द्धनको लक्ष्य राखिएको बताए ।

कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए ।  मेलामा झांकी, नृत्यका विजेता र उल्लेख्य सफलता हासिल गरेका वा योगदान दिएका व्यक्तित्वलाई सम्मान पनि गरियो ।

तमुधिं यूकेले सो अवसरमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, गण्डकी प्रदेश सांसद बेदप्रसाद गुरुङ, खेलाडीहरु सरिना रानी घले र संगम गुरुङ, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नेपाली लिंक (नवीन पोखरेल, ध्रुव राज अर्याल, नरेन्द्र बस्नेत), गोर्खा मिडिया मिलन तमु र प्रकाश गुरुङलाई खादा, फेटा र प्रमाणपत्रले सम्मान गरेको छ ।

विगतका वर्षहरु जस्तै अत्यन्तै व्यवस्थित ढंगले आयोजित मेला उद्घाटन तमुधिं युकेका पदाधिकारी तथा पाहुनाहरुले मैन बत्ती बालेर संयुक्त रुपमा गरेका थिए। सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, दुर्गा गुरुङ, योगेश गुरुङ लगायतले सञ्चालन गरेका थिए ।

मेलाका अतिथिहरुलाई गोर्खा प्यालेस रेष्टुरेन्ट, फार्नबरोले स्वादिष्ट परिकार पस्किएको थियो ।

तस्विरः शिव भण्डारी/मिलन तमु/नरेन्द्र बस्नेत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू