आइतबार, ६ जुलाइ, २०२५
22:31 | ०३:१६

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

रासस/एएफपी जुलाइ ६, २०२५

तस्विर रोयटर्स

हन्ट, संयुक्त राज्य अमेरिका, असार २२ गते । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५१ पुगेको छ ।

उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन् ।

मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो ।

केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।

बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।”

अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडित फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५१ पुगेको छ ।

टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् ।

उहाँले भन्नुभयो, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहने छ ।”

टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताउनुभएको छ ।

उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ‘नबुझिने खालको त्रासदी’ को संज्ञा दिनुभएको छ ।

ठूलो मानवीय क्षति

टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताउनुभयो ।

मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भन्नुभएको छ ।

राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित क्याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू