बिहीबार, ३ जुलाइ, २०२५
01:44 | ०६:२९

क्षेत्री समाज बेलायत च्यारिटी कमिसनमा दर्ता

नेपाली लिङ्क जुलाइ २, २०२५

 


लन्डन – क्षेत्री समाज बेलायत (सीएसयूके) च्यारिटी संस्थाको रुपमा दर्ता भएको छ । निकै लामो प्रयासपछि अन्ततः बेलायतको च्यारिटी कमिसनमा आधिकारिक च्यारिटी संस्थाको रूपमा दर्ता भएको क्षेत्री समाज बेलायतका अध्यक्ष टेक जीसीले जानकारी दिए।

सन् २०१४ देखि दर्ता प्रक्रिया शुरु गरिएपनि आवश्यक प्रक्रिया पूरा गर्ने निकै समय लागेको थियो । पछिल्लो समय  निवर्तमान अध्यक्ष श्रद्धा थापाको नेतृत्व अन्तर्गतको कार्यसमितिले दर्ता प्रक्रियाको लागि  मेजर चक्र खत्रीको विशेष पहलमा आवश्यक प्रक्रिया अघि बढाउंदै आएको थियो ।

दर्ता प्रक्रियाका लागि समाजका पूर्व अध्यक्ष प्रेम खड्का, मेजर चक्र क्षेत्री र मेजर नारायण भण्डारी एमभीओले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। संस्थाका पदाधिकारीहरूको निरन्तर प्रयास र अथक मेहनतका कारण सीएसयूके च्यारिटी संस्थाका रुपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्ष जीसीले  सबैलाई धन्यबाद दिए ।

च्यारिटी कमिसनबाट विभिन्न नीति, नियमलगायत आवश्यक प्रक्रिया पुरा गरेर क्षेत्री समाज बेलायतलाई च्यारिटी संस्थाको रुपमा दर्ता गरिएको हो । अब समाजले कानूनी मूल्य मान्यता पूरा गरि जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ च्यारिटेबल कार्य गर्न सक्नेछ। यससंगै क्षेत्री समाज बेलायत थप सशक्त र प्रभावकारी हुने विश्वास गरिएको छ ।

क्षेत्री समाज बेलायत (सीएसयूके) सन् २००७ मा बेलायतमा स्थापित एक सामाजिक, सांस्कृतिक र सेवा मूलक संस्था हो, जसले बेलायतमा बसोबास गर्ने नेपालीहरुबीच सामाजिक सद्भाव, सहयोग र नेपाली पहिचान प्रवर्द्धन गर्दै आएको छ ।

बेलायतमा रहेका नेपाली समुदायबीच सामाजिक एकता र सहयोगको भावना फैलाउनु, नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन तथा आपतकालीन परिस्थितिमा नेपाल र नेपालीहरुलाई सहयोग र मार्गदर्शन प्रदान गर्नु समाजको मुख्य उद्देश्य हो ।

यसका साथै समाजले नयाँ पुस्तालाई नेपाली इतिहास, संस्कृति र योगदानबारे जानकारी दिन शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

‘हामी जातको लागि होइन, साथको लागि’ भन्ने मूल नारा बोकेर अगाडि बढिरहेको समाजले समुदायभित्र आपसी सम्बन्ध मजबूत पार्न र सामाजिक सेवामा संलग्न हुन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

समाजले यही जुलाई १२ तारिख वार्षिक भेटघाट कार्यक्रम गर्दैछ । अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको वार्षिक भेटघाटमा नेपाली लोक संगीतका लोकप्रिय कलाकारद्वय सुनिता दुलाल र बालचन्द्र बराललगायत कलाकारहरुले आकर्षक सांगीतिक प्रस्तुति दिने छन् भने उनीहरुको साथमा डिजे हेम विष्टको सांगीतिक सहकार्य रहने छ ।

कार्यक्रममा सबै सदस्यहरूलाई सहभागी हुन र च्यारिटी संस्थाको रुपमा दर्ता भएको खुशीयालीमा मनाउन समाजका अध्यक्ष टेक जीसीले सबैलाई  आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू