बेलायतका नेपाली इन्जिनियरहरुको दशौं वार्षिक सम्मेलन क्याम्ब्रीजमा



लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले बेलायतको क्याम्ब्रीजमा दशौं वार्षिक सम्मेलन गरेको छ ।
क्याम्ब्रीज विश्वविद्यालयस्थित म्याडिङ्ले हलमा शनिबार आयोजित सम्मेलन विशेष गरि विज्ञान, प्रविधि र इन्जिनियरिङमा केन्द्रित थियो । पूर्वाधार निर्माणमा कृत्रिम बुद्धिमता (एआई) को प्रभाव आदिबारे पनि छलफल भयो ।
एकदिने उक्त सम्मेलनमा विज्ञहरुले कुल ८ वटा कार्यपत्र पेश गरे । दुई कार्यपत्र भिडियोमार्फत र ६ वटा प्रत्यक्ष प्रस्तुत गरिएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायतमा रहेका नेपाली इन्जिनियरहरुको सीप, ज्ञान र दक्षता नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण हुने बताए ।
घिमिरेले नेपाल सरकारले ‘ब्रेन गेन’ नीति अन्तर्गत विदेशमा रहेका दक्ष जनशक्तिलाई देशको विकासमा सदुपयोग गर्न गम्भीर रहेको बताए । ‘समृद्ध नेपाल, खुशी नेपाली’ भन्ने सरकारको मुख्य लक्ष्यमा इन्जिनियरहरुले उल्लेख्य भूमिका निर्वाह गरेको पनि राजदूतले बताए ।
बेलायतका इन्जिनियरहरुले यहां आफ्नो दक्षतामात्र हासिल नगरि बेलायती संस्थान र व्यक्तिहरुबाट प्रतिष्ठा समेत आर्जन गरेको राजदूतको भनाइ थियो ।
उनले राजदूतावासले विकास र नवीनतम अन्वेषणमा डायष्पोराको दक्ष जनशक्तिलाई सदुपयोग गर्न लालयित भएको पनि उल्लेख गरे ।
मुख्य वक्ता डब्लुएसपीका निर्देशक टिम पिटले आफ्नो ज्ञान र श्रोत-साधन नेपालका लागि ‘आउटसोर्सिङ’ गर्न तयार रहेको बताए । डब्लुएसपी कम्पनीमा करिब ४४ वर्ष काम गरिसकेका टिमले साउदी अरब, दुबई, हङकङ र पूर्वी युरोपमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।
हाइ स्पिड रेल नेटवर्क प्रोजेक्टहरुमा लामो समय काम गरेका उनको विशेष गरि रेल स्टेशन डिजाइन र इन्टरचेन्ज स्टेशन निर्माणमा दक्षता छ । उनको नेतृत्वमा बेलायतमा सबैभन्दा ठूलो इन्टरचेन्ज स्टेशन बन्ने तयारीमा छ। उनले परियोजनाको विकास र प्रमुख डिजाइन तत्वहरुबारे पनि प्रकाश गरे।
अतिथी वक्ता अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्सको लियजन कमिटी अध्यक्ष सिभिल इन्जिनियर कुलमणी आचार्यले अमेरिकामा करिब १० हजार नेपाली इन्जिनियर कार्यरत रहेका र ५ वटा च्याप्टर सक्रिय भएको बताए ।
आफू आवद्ध संस्थाले नेपाली संघसंस्थाहरुसंग सहकार्य गरि काम गरिरहेको जनाउंदै उनले नेपालमा भूकम्प र प्राकृतिक विपद क्षति न्यूनीकरणमा समेत वौद्धिक लगानी गरेको धारणा राखे । नेपालले दक्ष जनशक्ति खोजिरहेकाले सबैलाई योगदान गर्न पनि उनले अपिल गरे ।
नेपालले आइटी र वैज्ञानिक क्षेत्रबाहेक वार्षिक ८ हजार इन्जिनियर उत्पादन गर्ने तर तीन सय इन्जिनियरले मात्र अवसर पाउने भएकाले करिब २५ प्रतिशत इन्जिनियर विदेश पलायन भएका आचार्यले बताए ।
कार्यक्रमका सभापति एवं सोने यूके अध्यक्ष सुवोध तिमिल्सिनाले सबैलाई धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन सघाउने सबै सहयोगीप्रति आभार व्यक्त गरे ।
इन्जिनियरहरुले ‘चुनौति नै अवसर हो’ भन्ने मान्यताले काम गरिरहेको जनाउंदै अध्यक्ष तिमिल्सिनाले नेपालमा प्राविधिक ज्ञान हस्तान्तरणमा काम गर्न आफूहरु इच्छुक र सक्षम रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले विश्वव्यापी छरिएका इन्जिनियरहरूलाई प्राविधिक र ज्ञान आदानप्रदानका लागि जोड्ने ग्लोवल इन्जिनियरिङ फोरमको सम्भावनामाथि पनि प्रकाश पारेका थिए ।
तिमिल्सिनाले इन्जिनियरिङ क्षेत्रमा ‘आउटसोर्सिङ’ लाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिंदै ‘डब्लुएसपी नेपाल’ स्थापना गर्ने प्रयासले रोजगारीलाई मात्र बढावा दिने नभइ ज्ञान हस्तान्तरण पनि गर्ने बताए ।
पहिलो सत्रमा सम्मेलनका संयोजक डा. दीपक जिसीले कार्यक्रम उद्देश्यबारे प्रकाश पारेका थिए । उद्घाटन सत्र सोने यूके सचिव संगीता पोख्रेलको न्यानो स्वागतबाट सुरु भएको थियो ।
दोश्रो चरणको प्राविधिक सत्रमा इन्जिनियर हरि न्यौपानेले स्वास्थ्य सेवाका लागि एआइ फ्रेमवर्क, डा. विनोदलाल अमात्यले काठमाडौंमा मेट्रो रेल विकासको रुपरेखा, इन्जिनियर प्रभाव रेग्मीले रेडियो फ्रिक्वेन्सी स्रोत स्थानीयकरणका लागि मानवरहित हवाई प्रणालीको डिजाइन, इन्जिनियर संयुक्त श्रेष्ठले नेपालभाषाको यन्त्रानुवादका चुनौतिहरु, डा. रमेश मरासिनीले निर्माणमा दृश्य उपकरण, इन्जिनियर निर्देश खतिवडाले एलसीथ्री हाइड्रेसन रिभ्यूबारे कार्यपत्र प्रस्तुत गरे ।
इन्जिनियर रविन गुरुङ र आचल तिवारीले भिडियोमार्फत क्रमशः टनेल भेन्टिलेसन र मेट्रो ग्राउण्ड भाइब्रेसनबारे कार्यपत्र प्रस्तुत गरे । इन्जिनियरहरु मनोज काप्री, सिर्जना खड्का, कृष्ण कंडेल र सुजन सापकोटाले ‘पोस्टर प्रिजेन्ट’ गरेका थिए ।
प्राविधिक सत्र दुई चरणमा सञ्चालन गरिएको थियो जसको सुरुवात डा. दीपक जिसीले सत्रहरुबारे संक्षिप्त परिचयबाट गरेका थिए । डा जिसी र इन्जिनियर घनश्याम पौड्यालले प्रस्तुत गरिएका सबै कार्यपत्रको सारांश र समाधानसहित प्राविधिक सत्र समापन गरेका थिए ।
सहभागीले प्राविधिक सत्रहरु अत्यन्तै जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । कार्यपत्र विश्वव्यापी र नेपालको विशेष सन्दर्भहरुमा प्राथमिकता र चुनौतीहरूलाई प्रतिबिम्बित गर्ने इन्जिनियरिङका धेरै क्षेत्रहरूलाई समेट्ने खालका थिए ।
अध्यक्ष इन्जिनियर सुबोध तिमिल्सिनाको समापन टिप्पणीसँगै सम्मेलन सकिएको थियो । उनले सम्मेलन सफल बनाउन सहयोग गरेकामा अतिथिहरू, प्रस्तुतकर्ताहरू, समीक्षकहरू, प्रायोजकहरू, सदस्यहरू र सहभागी सबैलाई धन्यवाद पनि दिए ।
सहकार्य, नवीनता र ज्ञान आदानप्रदानको एक दशकको उत्सव मनाउँदै सम्मेलनले विश्वभरका इन्जिनियरहरू, अनुसन्धानकर्ताहरू र पेशेवरहरूलाई एकतावद्ध गर्न एक जीवन्त प्लेटफर्म प्रदान गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५