शुक्रबार, असार १३, २०८२
17:53 | २२:३८

बेलायतमा फुटबल क्लव चलाउंछन् नेपाली तन्नेरी

नेपाली लिङ्क जुन २७, २०२५

लन्डन-पुर्ख्यौली घर छेपेटार गोरखा तर उनी जन्मिए काठमाडौंमा । १४ वर्षको उमेरमा बेलायत आइपुगेका २८ वर्षीय आभूषणराज पन्तको प्रगति लोभलाग्दो छ यहाँ।

अहिले उनी स्थानीय वाटफोर्ड फुटबल क्लव अन्डर –१४ गल्स टिमको हेड कोच छन् । उनको प्रशिक्षणमा हालै वाटफोर्ड फुटबल क्लव एकेडेमी १८ मा १७ गेम जितेर जुनियर प्रिमियर लिग २०२५ च्याम्पियन बन्न सफल भयो । 

उनले आफ्नै एफएसपी फुटबल क्लव पनि चलाइरहेका छन् जुन क्लवमा करिब १५० जना किशोर किशोरीले प्रशिक्षण लिइरहेका छन् । उनको क्लवबाट प्रशिक्षित खेलाडीले स्थानीय कयौं टुर्नामेन्ट पनि जितेका पन्तले जनाए ।  

यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन्स् बी (यूइएफए बी) को कोचिङ लाइसेन्स प्राप्त आभूषणले लन्डनस्थित सेन्ट म्यारिज यूनिभर्सिटीबाट स्पोर्टस अन्तर्गत ‘स्ट्रेन्थ एन्ड कन्डिसनिङ’ विषयमा ब्याचलर्स गरेका छन् ।  

उनले वृहस्पति विद्या सदन स्कुल पढ्दा ६ कक्षादेखि नै फुटबल खेल्न थालेका थिए । उनी यूके आए लगत्तै फुटबल खेलतिर लागे । ग्रासरुटबाट सेमीप्रो फुटबल खेलेपछि कोचिङतिर मोडिएका थिए उनी । ‘ट्यालेन्ट भए यहाँ धेरै अवसर हुने रहेछ’– उनी पेशाप्रति गर्व गर्छन् ।  

‘यूइएफए ए’ को कोचिङ लाइसेन्स लिएर नेपालको ग्रासरुट फुटबल विकास गर्ने उनको मुख्य लक्ष्य छ । ‘नेपाल सरकारले बोलाउँछ भने म नेपाल गएर कोचिङ जिम्मेवारी निर्वाह गर्न तयार छु’, उनले भने, ‘हामीसंग ज्ञान, सीप छ तर देशले आवश्यकता महशुस गर्नुपर्छ ।’

उनले नेपाल जांदा गाउँमा फुटबल सामग्री वितरण र आफ्नो ज्ञान बाढ्दै आएको बुवा आशिषराज पन्त बताउँछन् । ‘छोराले धेरै मेहनत गरेर आफ्नो करिअर बढाएको छ । उसले मातृभूमिमै केही गर्ने महत्वकांक्षा राखेकाले हामीलाई गर्व छ’, पन्तले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू