मंगलबार, असार १०, २०८२
13:26 | १८:११

खाडी मुलुकमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनए आइसीसीको अपिल

नेपाली लिङ्क जुन २३, २०२५

लन्डन – गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले इजरायल, इराक तथा खाडी मुलुकमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ ।  

एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा जारी विज्ञप्तिमा इजरायल र इरानबीच द्वन्द्व चर्कंदै जाँदा  इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ (स्थानीय समय अनुसार सोमबार राती) मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् ।

“कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौं नेपालीको सुरक्षाका बारेमा हामी चिन्तित छौं। सम्बन्धित देशका सरकारहरु, स्थानीय सुरक्षाकर्मी तथा नेपाली दूतावासका निर्देशनहरू पालना गर्न ती मुलुकहरुमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हामी हार्दिक अपिल गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

“भारत सरकारको समेत सहयोग लिएर इजरायल तथा इरानमा रहेका नेपालीहरुलाई सकुशल उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरिरहेको पहलको हामी प्रशंसा गर्दछौं। ती मुलुकहरुमा रहेका संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई सक्रियतापूर्वक स्थानीय नेपाली समुदायलाई सही सूचना तथा जानकारी सहित सक्दो सहयोग गर्न अनुरोध गर्दछौं। एनआरएनए आइसीसीले पनि २४ सै घण्टा बदलिँदो परिस्थितिको अनुगमन गरिरहेको र नेपाल सरकार, सम्बन्धित दूतावासहरु तथा एनसीसीहरुसंग निरन्तर सम्पर्कमा रही हरसम्भव सेवा पुर्‍याउन तत्पर रहेको जानकारी गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ।

एनआरएनए आइसीसीले युद्धको त्रासदी अन्त्य गर्न संयुक्त राष्ट्रसंघका मूलभूत मान्यताहरुको पालना गर्दै कूटनीतिक माध्यमबाट छलफल र वार्ताद्वारा दीगो शान्तिका लागि पहल गर्न सम्बन्धित सबै पक्षलाई अपिल पनि गरेको छ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू