मंगलबार, असार १०, २०८२
12:04 | १६:४९

इरानद्वारा कतारको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण, नेपाली चिन्तित

नेपाली लिङ्क जुन २३, २०२५

तस्विर रोयटर्स

लन्डन । इरानले कतारस्थित अमेरिकी हवाई अड्डामा मिसाइल प्रहार गरेको छ । शनिबार अमेरिकाले आफ्नो आणविक स्थलहरूमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप इरानले सोमबार राती मिसाइल आक्रमण गरेको हो ।

कतारले अमेरिकाद्वारा सञ्चालित अल उदेद अड्डामा भएको आक्रमणको पुष्टि गर्दै प्रत्यक्ष प्रतिक्रिया दिने अधिकार सुरक्षित राखेको बताएको छ।

तर कतारले सबै क्षेप्यास्त्रहरूलाई ध्वस्त पारेको छ । पेन्टागनले पनि अमेरिकी हताहतको कुनै रिपोर्ट नभएको बताएको छ।

उक्त सैन्य बेसमा करिब ८ हजार अमेरिकी सैनिक तैनाथ रहेको जनाइएको छ ।

इरान भित्रका तीन आणविक केन्द्रमाथि अमेरिकाले शक्तिशाली बम हमला गरेको दुई दिनपछि वासिंटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा अधिकारीहरुबीच सुरक्षा परिषदको बैठक भएको छ ।

कतारस्थित नेपालीलाई सतर्क रहन दूतावासको सूचना

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन सूचना जारी गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन भन्दै नेपाली दूतावासले सूचना जारी गरेको हो ।

जारी सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध’ गरिएको छ ।

‘नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं’, सूचनामा भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू