मंगलबार, असार १०, २०८२
07:20 | १२:०५

इंग्ल्याण्डमा द ब्रिज डिकेड कप, उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले दिलाए कप

नेपाली लिङ्क जुन २३, २०२५


लन्डन । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आइतबार एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

इंग्ल्याण्डको वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा ‘द ब्रिज डिकेड कप २०२५’ भएको हो । ब्रिज ११ र डेभाइज क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेतृत्वको ब्रिज ११ ले १२७ रनको शानदार जित हात पार्‍यो ।

सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेर टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

सन्दीप लामिछाने कप्तानको रूपमा मैदानमा उत्रिँदा ब्रिज ११ ले डेभाइज क्रिकेट क्लबविरुद्ध एकतर्फी खेल प्रस्तुत गर्‍यो । बल र ब्याट दुबैमा प्रभावशाली प्रदर्शन गर्दै सन्दीपले आफ्नो टोलीलाई स्पष्ट जित दिलाए ।

सन्दीप आइसीसी लिग–२ र टी–२० सिरिज खेलेपछि यस प्रतियोगितामा सहभागी भएका थिए ।

खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे।

कार्यक्रम संयोजक विज्ञान कार्कीले खेलमार्फत स्थानीय समुदाय र खेलप्रेमीबीच आपसी सम्बन्ध सुदृढ गर्न योगदान हुने विश्वास व्यक्त गरे।

प्रतियोगितामा प्राविधिक सहयोग पुर्‍याएको म्याक्स क्रिकेट क्लबका कप्तान म्यानी गरुङले ब्रिज कपको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरे।

त्यस्तै ब्रिज कपका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो संस्थागत यात्रासँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए ।

ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका अध्यक्ष महेश गिरीले सबैलाई धन्यवाद दिंदै कम्पनीले आगामी दिनमा अझ व्यापक प्रतियोगिता आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।

गिरीले सन्दीप लामिछाने जस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त क्रिकेटरलाई आफ्नो ब्राण्ड एम्बासडर पाएकामा गर्व लागेको बताए ।

सो अवसरमा कोभेन्ट्री युनिभर्सिटी, लन्डनबाट २०२४ २०२५ को स्टुडेन्ट अफ द इयर उपाधि प्राप्त गरेका विप्लब खड्कालाई विशेष सम्मान गरियो ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू