सोमबार, असार ९, २०८२
22:00 | ०२:४५

एनआरएनए एकतामा प्रधानमन्त्री नै बाधक बने: अध्यक्ष श्रेष्ठ

नेपाली लिङ्क जुन २२, २०२५

अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले अब राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले पनि बद्री केसी पक्षलाई प्रश्न गर्नुपर्ने बेला आएको बताएका छन् 

हाल अमेरिका भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा एनआरएनए अमेरिकाद्वारा शुक्रबार न्यूयोर्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यदि केसी पक्षले आफूलाई आधिकारिक दाबी गरिरहने हो भने अब एनसीसीहरुले लिखित रुपमा हामी एकता महाधिवेशनद्वारा निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मान्दछौं भनेर सार्वजनिक रुपमा भन्नुपर्ने बताए।

बालुवाटारको सचिवालय प्रयोग गर्न नसक्नु, एमआइएस सिस्टममा पहुँच नहुनुलाई पनि कतिले आधिकारिकतासंग जोडेको विषयमा टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘एनआरएनए  सामाजिक संस्था हो, हाम्रो उद्देश्य नै के थियो भने सबैलाई मिलाएर लैजानु पर्छ, त्यसमा धेरै झगडा गर्नु पर्ने विषय पनि होइन, त्यसैपनि एनआरएनए भनेको झगडियाहरुको संस्था भन्ने उपाधि पाएका छौं, त्यसैलै सचिवालयमा गएर अफिस लिँदा थप झगडा होला भन्ने बुझेर नै हामी त्यहाँ नगएका हौं, त्यसलाई कमजोरी नठानिओस् ।’

‘एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक’

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले परराष्ट्र मन्त्रालयले मान्यता दिएर पत्राचार गरिसक्दा पनि प्रधानमन्त्री ओलीले अहिले पनि बद्री केसी पक्षलाई सहमति गर्न नदिएको आरोप लगाए । उनले भने, ‘मे ३–४ को अधिवेशन सकिएपछि बद्रीजीहरु प्रधानमन्त्रीलाई भेट्न गएका बेला उक्साएर कार्यक्रम आयोजना गर्न लगाउनु भयो र आफै कार्यक्रममा गएर तपाईंहरु नै आधिकारिक हो भनेर बोलेपछि एनआरएनएमा एकताको वातावरण बिथोलिएको छ ।’

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीकै कारण आफूहरु पनि हामी आधिकारिक हो भन्दै हिँड्नु परेको बताए । उनले भने, ‘हामी नै आधिकारिक हो भनेर हिँड्दा हिँड्दै डेढ महिना बितिसक्यो । हामीले अहिले पनि प्रष्टरुपमा भन्न चाहन्छौं, एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिका लागि  आधिकारिकताको पुष्टि गर्नुपर्ने विषय नै होइन र हामीलाई त्यो बाध्यता पनि छैन ।’


अध्यक्ष श्रेष्ठले केसी समूहमा रहेका हेमराज शर्माले सम्मानित अदालतका फैसलाहरुलाई आफू अनुकूलको ब्याख्या गर्दा पनि अप्ठेरो परेको बताए ।

“म प्रष्टसँग के भन्छु भने अदालतको परमादेश अनुसार बनेको उच्चस्तरीय समितिले नेपाल सरकारका अधिकारीहरुको निगरानीमा सम्पन्न निर्वाचनबाट हामी निर्वाचित भएर आयौं । फैसला कार्यान्वयन गर्ने र व्याख्या गर्ने निकाय हुँदाहुँदै आफूखुसी, आफूलाई अनुकूल हुने हिसाबले व्याख्या गर्न खोज्दा नै एनआरएनएको एकता अप्ठेरोमा परेको हो,” उनले भने 

संघका महासचिव बिआर लामाले एनआरएनए अमेरिकाले एकताको पक्षमा गरेको पहलबाट संसारभरि नै सकारात्मक संदेश गएको बताए। गैरआवासीय नेपाली सम्बन्धी संशोधन विधेयकमा सरोकारवाला पक्षहरूसँग सुझाव पेश गर्न एक विज्ञ समूह छिट्टै गठन गरिने उनले बताए ।  

एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नवराज सुवेदीको संयोजकत्व र उपाध्यक्ष अनिता परियारको सहसंयोजकत्वमा आयोजित उक्त कार्यक्रममा अमेरिकाका करिब ३५ वटा स्थानीय संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेसका पूर्वआमन्त्रित सदस्य आनन्द बिष्ट र जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले नयाँ कार्यसमितिलाई ठूलो जिम्मेवारी भएको र नमिलेका साथीहरूलाई मिलाएर लानुपर्नेमा जोड दिए । 

त्यसैगरी वरिष्ठ कानुन व्यवसायी तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले सबै मिलेर छिटो भन्दा छिटो गैर आवासीय नेपाली सम्बन्धी नागरिकता संशोधन विधेयक पास गर्न लाग्नुपर्ने बताए ।


यस अघि गत शुक्रवार डा अर्जुन बन्जाडे नेतृत्वको एनआरएनए एनसिसी अमेरिकाद्वारा मेरिल्याण्डको बाल्टिमोरमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा दुबै अध्यक्षले अब सहकार्य गरि दुबै संस्थालाई एक गराउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

यसै अनुरुप न्यूयोर्कको कार्यक्रममा अर्जुन बन्जाडे नेतृत्वको कार्यसमितिका महासचिव रामहरि अधिकारीको सहभागिता थियो।

कार्यक्रममा गोविन्द डान्स सेन्टर, एम्हर्स्टका बाल बालिकाहरुले नृत्य प्रदर्शन गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू