शनिबार, ६ सेप्टेम्बर, २०२५
01:33 | ०६:१८

१२औं ग्रीनवीचकप उपाधि दाजुभाइ एफसीलाई

नेपाली लिङ्क जुन २२, २०२५

लन्डन- साउथ इष्ट लन्डनमा आयोजित १२ औं ग्रीनवीचकपको उपाधि दाजुभाइ एफसीले जितेको छ ।

नेपाली युथ एशोसिएसनको आयोजनामा आइतबार प्लमस्टिड कमनको स्वीनगेट प्लेयिङ फिल्डमा सम्पन्न ग्रीनवीचकप फेस्टिभलमा युथ विधामा सहभागी १० टोलीको प्रतिस्पर्धामा दाजुभाइले पहिलो हुंदै उपाधि जितेको हो।

उपाधि जित्ने क्रममा निकै प्रतिस्पर्धात्मक फाइनलमा दाजुभाइ एफसीले ट्राइब्रेकरमा प्लमस्टिड एफसीलाई हराएको थियो ।

विजेता दाजुभाइले उपाधिसंगै नगद १४ सय पाउन्डको पुरस्कार प्राप्त गर्‍यो । उपविजेता प्लमस्टिड एफसीले नगद ६ सय पाउन्डको पुरस्कार पायो ।

ग्रीनवीचकपको भेटेरान विधामा ६ टीमबीचको प्रतिस्पर्धामा प्लमस्टिड भेट विजेता बन्यो । विजेतालाई उपाधिसंगै नगद ५ सय पाउण्ड पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा युथ विधाको उत्कृष्ट खेलाडी दिनेश बुढाथोकी, उत्कृष्ट गोलकिपर वसन्त गुरुङ र सर्वाधिक गोलकर्ता डाका बने । भेटेरानमा उत्कृष्ट खेलाडी विवेक गुरुङ, संजीव श्रेष्ठ उत्कृष्ट गोलकिपर र निर्मल दुरा सर्वाधिक गोलकर्ताका रुपमा अवार्ड पाए ।

विजेता टीम तथा खेलाडीहरुलाई आयोजक नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ, संस्थापकहरु ह्यारी गुरुङ र प्रसिद्ध प्रधान, हेल्प नेपाल यूके अध्यक्ष सचिन श्रेष्ठ, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराई, तमुधिं साउथ इष्ट अध्यक्ष शिवराम गुरुङ, पासा पुचः गुथि साउथ इष्ट अध्यक्ष सुरोज मास्केलगायतले ट्रफी, मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा पूर्व मेयर काउन्सिलर जीत रानाभाट, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, आरजीएनएस अध्यक्ष लीलादेवी गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, बेक्सली नेपाली समाजका अध्यक्ष डा हरिश ज्ञवाली र महासचिव हिमाल गुरुङलगायतको पनि उपस्थिति थियो।

टुर्नामेन्ट संयोजन प्रतिक छन्त्यालले गरेका थिए।

ग्रीनवीचकप फेस्टिभलस्थलमा पासा पुचः गुथि यूके र म:म माउण्टेनलगायतका स्टलमा उपलब्ध मौलिक नेपाली परिकारहरु निकै रुचाइएका थिए।

सो अवसरमा स्थानीय कलाकार तथा ब्यान्डहरुले लाइभ संगीत समेत प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा पासा पुच गुथि यूके साउथ इष्ट लन्डनको तर्फबाट मौलिक धिमेबाजा र लाखे नाच प्रस्तुति गरिएको थियो। बेलायतमा लाखे नाच देखाएको २५ औं वर्ष पुगेको अवसरमा कलाकार विनोद चिपालुलाई सम्नान गरिएको थियो।

यस वर्षको ग्रीनवीचकप फेस्टिभलको प्रायोजक एनएम फाइनान्सियल, होम इन्स्टे ड र आर्क्स्टोन मेनेजमेन्ट थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू