एकता महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति नै आधिकारिकः दाहाल



ब्रसेल्स–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का उपाध्यक्ष लोक दाहालले संघको एकता महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति (आइसीसी) नै आधिकारिक भएकाले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
नेपाली राजदूतावास बेल्जियमद्वारा बुधबार बेल्जियमस्थित नेपाली संघसंस्था एवम् सामाजिक अगुवाहरुसंग आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष दाहालले सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्चस्तरीय समितिले आह्वानमा गत मे ३–४, २०२५ मा काठमाडौँमा सम्पन्न एकताको महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति वैधानिक रुपमा निर्वाचित भएको कुरा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विदेशस्थित सबै कूटनीतिक नियोगलाई जानकारी समेत गराइ सकेको बताए ।
उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक पत्राचार गर्दा पनि विधिसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितिलाई सचिवालयमा पहुँच नदिने कार्य स्वीकार्य हुन सक्दैन भन्दै बिना कुनै वाधा व्यवधान नवनिर्वाचित कार्यसमितिलाई सचिवालयमा अविलम्व पहुँच दिन पनि आग्रह गरे ।
‘एनआरएन नागरिकता, सामाजिक सुरक्षा, एनआरएन लगानी, नेपालमा रहेको हाम्रो सम्पत्तिको सुरक्षा जस्ता कतिपय सवालमा नेपाल सरकारसंग लबी गर्न र सहकार्य गर्न पनि हामी सबै एकजुट हुनुको विकल्प छैन। त्यसैले वैधानिक रुपमा निर्वाचित अन्तरराष्ट्रिय समन्वय समिति (आइसीसी) संग समन्वय र सहकार्य गर्न पनि म सबै एनसीसीहरुलाई आग्रह गर्दछु’, दाहालले भने ।
उपाध्यक्ष दाहालले व्यापार, पर्यटन, प्रत्यक्ष वैदेशिक लगानी तथा आर्थिक सहायता लगायतका क्षेत्रमा युरोपेली संघको मुख्यालय समेत रहेको बेल्जियमसंग द्विपक्षीय र ईयू स्तरीय सहकार्य गर्न सक्ने धेरै सम्भावनाहरु रहेको बताउंदै ती सबै क्षेत्रमा नेपाली दूतावाससंग सहकार्य गर्न संघ तत्पर रहेको बताए ।
कार्यक्रममा एनआरएनए आइसीसी प्रवक्ता गंगाधर गौतम, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता चित्र सुवेदी, पिजी शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए ।