बुधबार, असार ४, २०८२
04:05 | ०८:५०

लन्डन दूतावासमा एमाले महासचिव पोखरेलले भने, ‘देशमा अराजकता बढ्यो’

नेपाली लिङ्क जुन १७, २०२५

लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेकपा एमाले महासचिव शंकर पोखरेलको सम्मानमा मंगलबार सांझ दूतावास भवनमा एक रिसेप्सन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी महासचिव पोखरेलले अहिले नेपालमा लोकतन्त्र, राजनीतिक दल, तिनको नेतृत्व र समग्र समाजकै बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति देखा पर्दै गएकामा चिन्ता व्यक्त गरे ।

नेपाली राजनीति र समाजमा अराजकता बढ्दै गएको बताउंदै उनले थपे, ‘सामाजिक सञ्जालमा लोकप्रियतालाई व्यवसायिकरण गर्ने प्रवृत्ति चिन्ताको विषय बनेको छ ।’

यस प्रवृत्तिबाट देशलाई बचाउन यूकेमा रहेका नेपाली समुदायसहित सबैको साझा दायित्व रहेको उनले बताए । अराजकतातर्फ गइरहेको समाजलाई अनुशासनतर्फ लैजानै पर्ने उनको धारणा थियो ।

राजावादी भनिनेहरुले गणतन्त्र र लोकतन्त्रले के दियो भन्ने वहस चलाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले गणतन्त्र आएपछि उल्लेख्य परिवर्तन भएको उदाहरण पेश गरे ।

नयां व्यवस्थाले हरेक मानिसको जीवनमा परिवर्तन ल्याए पनि उनीहरु त्यसलाई अभिव्यक्त गर्न हिच्किचाइरहेका उनको भनाइ थियो । युरोप, अमेरिका र अरबको आंखाबाट नेपाली समाजलाई हेरेर केही भएकै छैन् भन्दै निराशाजनक टिप्पणी गर्ने तर ति देश कुन आधारमा कहिले समृद्ध भए त्यतातिर विश्लेषण नगर्ने परिपाटी रहेको पनि उनले बताए ।

‘अरु देश अगाडि बढे हामी पछाडि परयौं भन्ने छ । यो पनि बुझ्नुपर्छ कि जतिबेला युरोप आर्थिक अर्थतन्त्रको विकासमा अगाडि बढ्दै थियो त्यतिबेला हामी राष्ट्र एकीकरणको कुरा गर्दै थियौं’, पोखरेलले भने, ‘राजतन्त्र, राणा शासन, तीस वर्षको पञ्चायत, १० वर्षको माओवादी सशस्त्र हिंसा र दश वर्षको राजनीतिक संक्रमणकालले गर्दा लोकतान्त्रिक पार्टीहरुले विकासको काम गर्नै पाएका छैनन् ।’

राजनीतिक अस्थिरताले देश विकास हुन नसक्ने पनि उनले बताए ।

यद्यपि अब देश समृद्धितिर अगाडि बढिरहेको उनले बताए । दक्षिण एसियामा जलविद्युत आयोजना शुरु गर्ने पहिलो मुलुक नेपाल भएको स्मरण गर्दै उनले भने, ‘पञ्चायतको अन्तिम समयसम्म बिजुली प्रयोग गर्ने संख्या ८ प्रतिशतमात्र र बिजुली उत्पादन जम्मा अढाइ सय मेगावाटमात्र थियो । अहिले बिजुली प्रयोग गर्ने जनसंख्या ९९ प्रतिशत छ र नेशनल ग्रीडमा झण्डै ३५ सय मेगावाट बिजुली जोडिएको छ । अब हामी एक वर्षमा हजार मेगावाट बिजुली उत्पादन गर्ने सामर्थका साथ काम गरिरहेका छौं । नेपालले केही पनि गरेन भन्न मिल्छ ?’

उनले अगाडि भने, ‘संघीयताले के दियो ? प्रदेश वा स्थानीय तह किन चाहियो भन्ने वहस पनि हुने गरेको छ । उदाहरणका लागि पञ्चायतकालसम्म सडक सञ्जाल जम्मा ८ हजार किलोमिटर थियो, अहिले एकलाख १० हजार किमी पुगेको छ । केन्द्र सरकारले बनाएको सडक सञ्जाल जम्मा ४३ हजार किमी छ । ६७ हजार किमी सडक प्रदेश र स्थानीय तहले बनाएका छन् । लोकतन्त्र, संघीयताले के दियो भन्ने जवाफ त यसले दिन्छ होला नि ?’

उनले राजावादीहरुले राजा ल्याउछौं भन्नु दिवास्वप्नमात्र भएको उल्लेख गर्दै कुनै हालतमा राजतन्त्र ल्याउन नदिइने जिकिर गरे ।

महासचिव पोखरेलले बेलायतको नेपाली डायष्पोरालाई नेपालमा लगानी लैजान र समृद्धिमा सहभागी हुन अपिल पनि गरे ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत चन्द्रकुमार घिमिरेले नेपालको राजनीतिक उपलब्धिको सुदृढीकरण र संवर्धन गर्दै जान सके देश समृद्ध हुने धारणा राखे । उनले देश विकासमा डायष्पोराको भूमिका महत्वपूर्ण हुने पनि बताए । राजनीतिक व्यक्तित्वमध्ये पोखरेल आफूलाई मनपर्ने नेता भएको भन्दै राजदूतले उनको तारिफ पनि गरे ।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, पेशा, व्यवसायमा आवद्ध व्यक्तित्व र राजनीतिक कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता थियो ।

प्रवासी नेपाली मञ्च बेलायतको नवौं अधिवेशन उद्घाटनका लागि बेलायत आएका एमाले महासचिव पोखरेलले यहां विभिन्न व्यक्तित्वसंग भेटघाट गरेका छन् । उनी बिहीबार नेपाल फर्कने कार्यक्रम छ।

तस्विरः शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू