बुधबार, असार ४, २०८२
01:00 | ०५:४५

१२ वर्षपछि नेपालले हरायो स्कटल्यान्डलाई

नेपाली लिङ्क जुन १७, २०२५

लन्डन- नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जीत निकालेको छ।

स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मंगलबार नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले पहिलोपटक स्कटल्यान्डलाई हराएको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

अन्तिम ओभरमा जितका लागि ४ रन चाहिएको अवस्थामा १९.४ ओभरमा नेपालले आठौं विकेट गुमायो। नेपाललाई जितको लागि १ रन मात्रै चाँहिदा किरण ठगुन्ना क्याच आउट भए। करण केसी ३ र सन्दीप लामीछाने १ रनमा अविजित रहे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे।

त्यसअघि ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाएको थियो। स्कटल्यान्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

नेपालका लागि सन्दीप लामीछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए।

नेपालले शृंखलाको पहिलो खेलमा नेदरल्यानड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो।

नेपालले १२ वर्षपछि स्कटल्यान्डसँग टी-२० फर्म्याटको खेल खेलेको थियो। यो नेपाल र स्कटल्यान्डको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल थियो। यसअघि नेपालले २०१३ मा पहिलो पटक स्टकल्यान्डसँग आइसीसी विश्वकप टी-२० क्वालिफार्यस खेलेको थियो। जसमा नेपाल ८ विकेटले पराजित भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू