सोमबार, असार २, २०८२
02:09 | ०६:५४

इजरायल इरान द्वन्द्व उत्कर्षमा, दुवै तर्फबाट हवाइ आक्रमण तीव्र

नेपाली लिङ्क जुन १५, २०२५

इजरायलको बट याममा इरानबाट भएको क्षेप्यास्त्र आक्रमणपछि उद्धारकर्मीहरु । तस्विर- रोयटर्स

जेरुसेलम, असार १ गते । इजरायल र इरानबीचको द्वन्द्व तीव्र हुँदै जाँदा दुवै तर्फबाट हवाइ आक्रमणहरू जारी छन्।

इजरायलले शुक्रबार बिहान इरानमा आक्रमण गरेर आणविक सुविधाहरू, सैन्य स्थलहरू र वस्ती भएका क्षेत्रहरूमा प्रहार गरेपछि यो घटना भएको हो।

तेश्रो दिन पनि इरानले जवाफमा ड्रोन र ब्यालिस्टिक मिसाइलहरूद्वारा प्रतिक्रिया जनाइरहेको छ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म कम्तिमा २२४ जनाको मृत्यु भएको बताएको छ भने इरानी आक्रमणमा कम्तिमा १४ जना इजरायली मारिएका जनाइएको छ ।

इरानले आइतबार इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सको गुप्तचर इकाइका प्रमुख मोहम्मद काजेमी मारिएको पुष्टि गरेको छ।

रिभोलुसन गार्ड्ससँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानी सरकारी टिभीले आइतबार इजरायली आक्रमणमा काजेमी, उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरीको मृत्यु भएको बताएको छ ।

यसअघि फक्स न्यूजसँगको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए ‘म तपाईंलाई भन्न सक्छु कि हामीले तेहरानमा उनीहरूको प्रमुख गुप्तचर अधिकारी र उनका उपप्रमुखलाई मार्‍यौं ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्ने हालैको इजरायली योजनालाई अस्वीकार गरेको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई तीन अमेरिकी अधिकारीहरूले बताएका छन् ।

एक अधिकारीले इजरायलले खामेनीलाई मार्ने अवसर पाएको तर ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई यो ‘राम्रो विचार’ नभएको बताएका समाचारमा उल्लेख छ ।

ट्रम्पले प्रस्ताव अस्वीकार गरेको पहिलोपटक रोयटर्सले रिपोर्ट गरेको थियो। तर फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा नेतान्याहूले रोयटर्सको रिपोर्टिङलाई प्रत्यक्ष रूपमा पुष्टि वा अस्वीकार गरेनन्।

जुन १५, २०२५ मा इरानको तेहरानमा इजरायली आक्रमणपछि शरण तेल डिपोमा आगोको मुस्लो ।तस्विर रोयटर्स

इजरायलले इरान विरुद्धको आफ्नो कारबाहीलाई निरन्तर तीव्र बनाउने इजरायल डिफेन्स फोर्सेस (आइडीएफ) का प्रमुख जनरल स्टाफ इयाल जामिरले आइतबार बताएका छन् ।

‘हामीले अभियान सुरु गरेको क्षणदेखि नै आश्चर्य र छलका साथ काम गरयौं । सुरुवाती आक्रमणमा हामीले शीर्ष सैन्य कमाण्डलाई मार्‍यौं’, उनले भने, ‘हामी हाम्रा कारबाहीहरूलाई निरन्तर तीव्र बनाउनेछौं र त्यसो गर्दा आगामी वर्षहरूमा हाम्रो सुरक्षालाई बलियो बनाउनेछौं।’

इजरायली प्रधानमन्त्री नेतान्याहूले आइतबार फक्स न्यूजलाई बताएअनुसार उनले ‘आणविक विनाश’ रोक्न इरानमाथि हवाई आक्रमण गरेका हुन् ।

उनले आफ्नो सरकारसँग इरान प्रारम्भिक आणविक हतियार विकास गर्न केही महिनामात्र टाढा रहेको गुप्तचर जानकारी पाएको बताए ।

‘हामीले कदम चाल्नुपर्‍यो’, नेतान्याहूले आइतबार फक्सका ब्रेट बायरलाई भने ‘हामीले बेलैमा कदम चाल्यौं आफूलाई बचाउनमात्र होइन्, संसारलाई बचाउन ।’

इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू