लन्डन वेम्बली स्टेडियमको कार्यस्थलमै मृत भेटिए २७ वर्षीय न्यौपाने



लन्डन- बेलायतमा एक नेपाली युवा आफ्नो कार्यस्थलमै मृत फेला परेका छन् । लन्डन हन्सलोमा बस्दै आएका २७ वर्षीय विपिन न्यौपाने शनिबार दिउँसो उनी कार्यरत लन्डनको वेम्बली स्टेडियमभित्रकै एक कोठमा मृत अवस्थामा फेला परेका हुन् ।
लन्डनस्थित नेपाली दूतावास, बेलायतमै बस्ने मृतकका आफन्त र संगै बस्दै आएका साथीहरुसमेतको सम्पर्कबाट नेपालीलिंकले प्राप्त गरेको जानकारीअनुसार घटनाबारे बेलायती प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर प्रारम्भिक रुपमा अरु कसैको संलग्नता आशंका गरिएको छैन ।
एक वर्षअघि अध्ययनका लागि बेलायत आएका न्यौपाने नेपालदेखिकै साथीहरुका साथमा लन्डन हन्सलोमा बस्दै आएका थिए ।
सेन्ट जोन युनिभर्सिटी योर्कबाट मास्टर्स पूरा गरेपछि उनले हालै पिएसडब्लु भिसा लिएर फुलटाइम काम गर्ने गरेका थिए ।
लन्डनको कुनै एक क्लिनिङ कम्पनीका लागि कार्यरत न्यौपाने वेम्बली स्टेडियममा खटिएका थिए । काममा समेत उनी प्रमोट भएर सुपरभाइजर बनेका थिए ।
गुल्मीको जोहाङ पुख्र्यौली घर भएका न्यौपानेको परिवार नेपालमा अहिले रुपन्देही मणिग्राममा बस्दै आएको छ । बाबुआमाका मात्र दुई सन्तानमध्ये मृतक परिवारका एक्ला छोरा थिए भने उनकी एक दिदी अहिले जापानमा कार्यरत छन् ।
मृतकका आफन्त र साथीभाइले बताएअनुसार बाहिरबाट हेर्दा न्यौपानेको सबै कुरा ठीकठाक देखिन्थ्यो । बेलायत आएको एक वर्षमै मास्टर्स पूरा गरेर काम गर्ने भिसा पाएका थिए। फूलटाइम काम भएकाले कमाइ पनि सुरु भएको थियो ।
लन्डनस्थित नेपाली दूतावासले पनि मृतकको परिवारसंग सम्पर्क भएको र यहाँको सबै अनुसन्धान तथा प्रक्रिया पूरा भएपछि नेपाल शव पठाउनेबारे आवश्यक समन्वय गरिने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५