आइतबार, असार १, २०८२
07:04 | ११:४९

बेलायती राजाबाट नेपालीलाई एमबीइ पदक

नेपाली लिङ्क जुन १४, २०२५

लन्डन । बेलायतमा च्यारिटी काममा सक्रिय एकजना नेपाली सुजन कटुवालले बेलायती राजा चार्ल्स तृतीयको जन्मदिनमा ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक पाएका छन् ।

शुक्रबार मध्यरात अवार्ड लिष्टमा परेको खबर आएपछि आफू निकै प्रफुल्ल भएको उनले बताए ।

मध्यम परिवारमा जन्मिएर संघर्ष गर्दै बेलायतमा च्यारिटी गरि राजाबाट अवार्ड पाउनु आफ्ना लागि जीवनकै उपलब्धि भएको पनि उनले बताए । राजाको वाहुलीबाट छिट्टै अवार्ड प्रदान गरिने छ । सिभिलियनबाट यो प्रतिष्ठित अवार्ड पाउने नेपालीको संख्या न्यून छ ।  

राजाको जन्मदिनमा आफ्नो समुदायको सेवा गर्ने प्रसिद्ध व्यक्तित्वहरू, सरकारी कर्मचारीहरू र साधारण मानिसको योगदानलाई कदर गर्दै अवार्ड घोषणा गर्ने प्रचलन छ । 

कोभिड महामारीका बेला झण्डै अढाइ लाख मानिसलाई निशुल्क खाना खुवाएका कटुवालले आफ्नो पानस हेल्पिङ ह्यान्डस् र अन्य च्यारिटी संस्थाबाट निरन्तर सामाजिक काम गर्दै आएका छन् ।

बिराटनगरमा जन्मिएका उनी सन् १९९८ मा बेलायत आएका थिए ।

साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक कटुवालले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने बेलायतस्थित परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को मानसिक स्वास्थ्य सचेतना अभियानमा सघाउन ६ हजार माइल पैदल यात्रा समेत गरेका थिए ।

कटुवाल बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको सूचीमा समेत पर्न सफल भएका थिए ।

‘कोभिड लकडाउन’ का बेला एक लाखभन्दा बढी स्वास्थ्यकर्मी र घरविहीन (होमलेस) मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका थिए ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डसले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो ।

आउंदो १० वर्षमा एक करोड मानिसलाई निशुल्क खाना ख्वाउन विभिन्न च्यारिटी संस्था र व्यक्तित्वसंग सल्लाह भइसकेको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू