भूतपूर्व गोर्खा माग सम्बोधन गर्न बेलायती पक्ष राखेर दूतावासमा भयो प्राविधिक बैठक



लन्डन—भूतपूर्व गोर्खाहरूको लामो समयदेखि उठाउँदै आएका मागहरू विशेषतः समान पेन्सनसम्बन्धी विषयमा नेपाली दूतावास लन्डनमा प्राविधिकस्तरको एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नेपाली दूतावास, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
लन्डनस्थित नेपाली दूतावासमा नयां कूटनीतिज्ञहरु आएका र बेलायत सरकार पनि परिवर्तन भएपछि झण्डै वर्षदिन पछि गोर्खा मुद्दामा यो पहिलो छलफल हो ।
साढे दुई घण्टा चलेको बैठकमा गोर्खाहरूको मुख्य माग र विशेष गरी समान पेन्सनसम्बन्धी विषयलाई प्राथमिकताका साथ केन्द्रित गर्दै गम्भीर छलफल भएको बताइएको छ । निकट भविष्यमा अर्को बैठक बसेर आपसी सहमति कायम गर्ने लक्ष्य लिइएको छलफलको नेतृत्व गरेका उपनियोग प्रमुख विपिन दुवाडीले जनाए ।
‘वर्षौ देखिको पेचिलो मुद्दा छिटो निचोडमा पुरयाउन बेलायती पक्ष सकारात्मक छ । तर, पेन्सन लिने कति भूपू गोर्खा छन्, कति रकम आवश्यक हुन्छ लगायतका तथ्यबारे अध्ययन गरि थप छलफल गर्ने कुरा भएको छ’, दुवाडीले भने ।
बैठकमा ठोस निष्कर्ष ननिस्किए पनि पेन्सन मुद्धामा प्रवेश गरी गम्भीर छलफल भएको वार्ता समिति सदस्य गेसो उपसभापति धर्म तामाङ्गले नेपालीलिंकलाई बताए।
‘पेन्सनको कुरा मिलाउन व्यवहारिक रुपमा अफ्टेरो छ भन्ने बेलायती पक्षको पुरानै कुरा थियो। तर हामीले पेन्सन बिना मान्दैनौ भनेर क्लियर गरेपछि नेगोसिएसन गरौँ न भन्ने आशय उनीहरुले राखे’, तामाङ्गले भने, ‘अब अर्को पटक सिधै पेन्सनको कुरा हुन्छ।’
‘समान पेन्सन मुद्दामा प्रवेश गरि सन् १९४८ देखि १९९३ सम्मको दिंदा पेन्सनमा कति रकम जान्छ, पेन्सन खाने वृद्धवृद्धा कति छन् सबै अध्ययन गरेर छिट्टै अर्को छलफलमा बसौं भन्ने कुरा भयो’-छलफलमा सहभागी गोर्खाहरुका तर्फबाट प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङले भने-‘वर्ष दिनदेखि ‘डेडलक’ भएको अवस्थामा आजको छलफलले वार्ताको ढोका खोलेको छ ।’
बैठकमा नेपाली सरकारको तर्फबाट नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी, सैन्य सहचारी महासेनानी अनुप शाह लगायत बेलायती रक्षा मन्त्रालयका ५ जना प्रतिनिधिको पनि सहभागिता थियो। त्यस्तै, भूतपूर्व गोर्खाहरूको तर्फबाट जी-१० का ९ जना प्रतिनिधि उपस्थित थिए ।
सम्बन्धित सामग्रीहरू

सिएनसिबिजीले गोर्खा र सन्ततिहरुको ‘वंशजको नेपाली नागरिकता’ मुद्दामा राजदूतसँग गर्यो छलफल
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५