लन्डन दूतावासमा नेपाल प्रवर्धन इभेन्ट, आरोहीले सुनाए रोचक कथा (तस्विरहरु)



लन्डन । लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसंगको सहकार्यमा शुक्रबार सांझ पर्यटन प्रवर्धन सम्बन्धि विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।
नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्समात्र सहभागी उक्त ऐतिहासिक कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरुले आ-आफ्नो अनुभव समेत साटासाट गरे ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र समृद्ध ऐतिहासिक कलाकृतिको अनुभव गर्न नेपाल भ्रमण गर्न अनुरोध गरे ।
राजदूत घिमिरेले नेपाल धेरै आश्चर्यजनक चीजहरु उत्खनन गर्न पर्खिरहेको उल्लेख गर्दै बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्बन्धबारे पनि प्रकाश पारे ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्यटनको पुरुत्थानका लागि सरकारको नीतिबारे प्रष्ट्याए । रेग्मीले सरकारले यात्रु र लगानीकर्ता दुवैका लागि आवश्यक सहजीकरण सुनिश्चित गर्ने आश्वासन पनि दिए ।
नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटनको प्राकृतिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक आयामहरूमाथि प्रकाश पार्दै नेपाल समुदायहरूलाई उत्थान र नेपाललाई अद्वितीय बनाउने सम्पदाहरुको संरक्षण गर्न दिगो र जिम्मेवार पर्यटनमा विश्वास राख्ने समेत बताए ।
उनले नेपाल जानु केवल भ्रमण मात्र नभएर जीवनकालको अनुभवहरू समेत लिनु रहेको उल्लेख गरे । पर्यटन व्यवसाय कोभिड महामारी अघिकै अवस्थामा फर्किसकेको उल्लेख गर्दै जोशीले नेपाल विदेशी पर्यटकहरुका लागि सुरक्षित गन्तव्य र निर्धक्कसाथ घुम्न सकिने बताए ।
सो अवसरमा वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष संयुक्त श्रेष्ठले काठमाडौं उपत्यकाको कला, सांस्कृतिक सम्पदा, मिथक र वास्तविकता, डा. एमी फ्रीज मरिसले बाघ र अन्य वन्यजन्तुहरूको संरक्षणका लागि नेपालको अनुकरणीय प्रयास तथा कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले आरोहण एवं हिमालमा उद्दार कार्य सम्बन्धी अनुभव प्रस्तुत गरेका थिए ।
ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टनले सामुदायिक वन कार्यक्रम नेपालमा सबैभन्दा प्रभावकारी समुदाय नेतृत्वको पहल मध्ये एक रहेको बताए ।
मंगल धुनबाट शुरु कार्यक्रममा स्थानीय कलाकारहरुले कुमारी नृत्य, खुकुरी नृत्य, किरात साकेला, झ्याउरे नृत्य र अन्त्यमा सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कलाकारहरु अस्मिता थापा मगरको कुमारी नृत्य, संयोग जिसीको खुकुरी डान्स, राजदेव, पारु, रुपा र निसुको साकेला, ममता श्रेष्ठको ‘नेपालकी छोरी हुं म…’ गीतमा नृत्य, रिना थापामगरको झ्याउरे डान्स अनि ‘रेशम फिरिरि…’ ले सांझ नेपालमय बनाएको थियो ।
दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको कार्यक्रममा आफ्नो कथा सुनाउने वक्ताहरुलाई राजदूत घिमिरे र पर्यटन बोर्डका सिइयो जोशीले प्रशंसापत्र प्रदान गरे । दूतावासले आगमनका क्रममा सबै विदेशी पाहुनालाई ढाका टोपी र खादा पहिरेर स्वागत गरेको थियो ।
कार्यक्रमका अतिथीहरुलाई एभरेष्ट इनले स्वादिष्ट खाना पस्केको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५