बिहीबार, जेठ २३, २०८२
11:08 | १५:५३

लन्डनमा नेवारी खाना र संस्कृति प्रवर्द्धन गर्न नेवा: भोज

नेपाली लिङ्क जुन ३, २०२५

लन्डन- पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ ।

यही जुन ८ तारिख आइतबार लन्डनको चार्ल्टनस्थित चार्ल्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ ।

भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकार तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केले नेपालीलिंकलाई बताए । खानाका साथ मौलिक शैलीमा तयार पारिने थों र ऐला पनि रहनेछन् ।

उक्त अवसरमा स्टार्टरको रुपमा समयबजी र पछि मेन कोर्सका रुपमा मुख्य भोज रहनेछ । भोजमा पस्किने सबै परिकार गुथिका सदस्यहरु आफैले तयार पार्नेछन् ।

भोजमा नेपालमा जस्तै मौलिक शैलीमा पलेटी कसेर लप्टे (टपरी) मा परिकारहरु सर्भ गरिनेछ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

उक्त अवसरमा बेलायतस्थित नेवार तथा गैरनेवार समुदायका साथै केही बेलायतीहरुलाई पनि आमन्त्रण गरिएको छ । भोजमा २ सय ५० जनाको सहभागिता अपेक्षित छ ।

भोजमा सहभागी हुन टिकट शुल्क २७ पाउण्ड छ । तर १२ वर्षमुनिका लागि १५ पाउण्ड लाग्नेछ भने ५ वर्षमुनिकालाई निशुल्क छ ।

भोजको टिकट गुथिको वेबसाइटबाट अनलाइन लिन सकिनेछ ।

पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले बेलायतमा नेवारी खाना र संस्कृति प्रवर्द्धनको लक्ष्य राखेर यस्ता भोजहरु आयोजना गरिंदै आएको बताएका छन् ।

नेवार समुदायको मौलिक खाना, परम्परा र संस्कृति बेलायतमै हुर्किंदै गरेको नयाँ पुस्ताका साथै गैरनेवार नेपाली र अरु विदेशी समुदायसम्म पनि पुर्‍याउन र चिनाउन पनि नेवाः भोज सहयोगी बन्ने अपेक्षा उनले व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू