बिहीबार, जेठ २३, २०८२
05:51 | १०:३६

क्यानडामा विशेष कार्यक्रमसहित सगरमाथा दिवस

नेपाली लिङ्क जुन ३, २०२५


भ्यानकुभर-  क्यानडास्थित नेपाली दूतावास र क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजले संयुक्त रूपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् । भ्यानकुभरको बर्नाबीमा गत शनिबार विशेष कार्यक्रम आयोजना गरि  सगरमाथा दिवस मनाइएको हो ।  

नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको एक भागको रूपमा उक्त कार्यक्रम गरिएको थियो।

आफ्नो उद्घाटन मन्तव्यमा  क्यानडाका लागि नेपालका राजदूत भरत राज पौड्यालले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर इतिहास रचेको स्मरण गरे ।

उनले हिमाली साहसिक यात्रामा शेर्पा समुदायको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै नेपालका पर्यटन आकर्षणहरुको चर्चा पनि गरे। 

राजदूत पौड्यालले क्यानडाली नागरिकहरुलाई नेपाल भ्रमण गरि साहसिक यात्रा, संस्कृति, आध्यात्मिकता र नेपालको अप्रतिम प्राकृतिक सौन्दर्य अनुभव गर्न आग्रह गरे।

उनले नेपाल–क्यानडा मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका ६ दशकमाथि पनि प्रकाश पर्दै कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याएकोमा क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजप्रति आभार प्रकट गरे।


प्रसिद्ध सगरमाथा आरोहीहरू  “शेर्पा डेब” रोड्नी, श्रीमती डोमा शेर्पा, क्रिस्टोफर डेयरले विश्वकै सर्वोच्च शिखर आरोहणका प्रेरणादायी अनुभवहरू साझा गरे । 

१२ पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही पेमा छिरिङ शेर्पाले भर्चुएल माध्यमबाट सम्बोधन गर्दै सगरमाथा आरोहण पहिले भन्दा गाह्रो हुँदै गएको बताए ।

‘जलवायु परिवर्तनले गर्दा पहिले ३०० मिटर हिउँ हुने ठाउँमा अहिले चट्टान मात्रै छ। यसले आरोहणलाई थप जोखिमपूर्ण बनाएको छ। यो नेपाल मात्रै हैन संसारकै लागि चिन्ताको विषय हो,” उनले भने। 

कार्यक्रममा सगरमाथा आरोहणसम्बन्धी विशेष वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। राजदूत पौड्यालले सगरमाथा आरोहीहरूको साहस, दृढ संकल्प, सफल आरोहण र नेपाल तथा नेपाली पर्वतारोहणलाई क्यानडामा प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मानपत्र प्रदान गरेका थिए ।

ब्रिटिश कोलम्बियाको विधायिका सभाका सभामुख  राज चौहान, सांसद पॉल छोई तथा नेपाली समुदायका प्रतिनिधिहरूले कार्यक्रमलाई  सम्बोधन गरेका थिए । उनीहरूले सगरमाथा दिवसको महत्व र नेपाल–क्यानडा सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे। 

बर्नाबी नगरका मेयर माइक हर्लेले सन् २०१५ को महाभूकम्प लगत्तै आफ्नो नगरका अग्नि नियन्त्रकहरुले नेपालमा गएर उद्धार कार्यमा सहयोग गरेको स्मरण गरे। 


आफ्नो स्वागत मन्तव्यमा क्यानडा-नेपाल मैत्री तथा सांस्कृतिक समाजका अध्यक्ष नविन ढकालले संसारमा असम्भव भन्ने केही छैन भन्दै युवा पुस्तालाई आफ्नो उद्देश्यमा लागी रहन आग्रह गरे। 

त्यस्तै एनआरएनए क्यानडाका अध्यक्ष तथा ब्रिटिश कोलम्बिया नेपाली समाजका अध्यक्ष माधव दुलालले नेपाली गौरव र पहिचानका रूपमा रहेको सगरमाथाले नेपाल र नेपालीलाई संसारभरि चिनाउने काम गरेको बताए ।

कार्यक्रममा नेपाली र क्यानडाली कलाकारहरूले सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए जसले दुबै देशको समृद्ध सांस्कृतिक विरासत झल्काएको थियो। मुख्य आकर्षणमा नेपाली परम्परागत नृत्यहरू कुमारी नृत्य, वज्रयोगिनी नृत्य, तामाङ नृत्य, लिम्बु नृत्य, लाखे नृत्य र क्यानडाली आदिवासी नृत्य सामेल थिए।

कार्यक्रममा क्यानडा तथा नजिकैका अमेरिकी राज्यहरूबाट आएका प्रवासी नेपाली, नेपाली समुदायका संघसंस्था, उद्यमीहरू, समुदायका  अगुवा तथा क्यानडाली नागरिकहरुको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू