जुमकाजी गुरुङको नेतृत्वमा ऐतिहासिक बन्यो गोर्खाकप (भिडियो)


लन्डन- बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप गत २५ मे आइतबार भव्य रुपमा सम्पन्न भएको छ ।
तमुधिं यूकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा भएको २३ औं गोर्खाकप ऐतिहासिक बनेको छ ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा भएको यसपटकको गोर्खा कप धेरै आयामबाट ऐतिहासिक बनेको विश्लेषण गरिएको छ । पहिलो, गोर्खा कपमा यसपटक बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथी थिए । यसअघि हरेक वर्ष स्थानीय रसमोर बरो काउन्सिलका मेयर प्रमुख अतिथी हुने परम्परा तोड्दै अध्यक्ष जुमकाजी गुरुङले राजदूतलाई प्रमुख अतिथीका रुपमा निम्त्याए ।
त्यसो त केही महिनाअघि नेपाल भ्रमणमा गएको अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको तमुधिं यूके टीमले पहिलोपटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली मेलाको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा समेत दिएको थियो।
गोर्खा कप ऐतिहासिक र अविष्मरणीय बनाउने दोश्रो पक्ष थियो नेपालकी राष्ट्रिय महिला फुटबल खेलाडी र हाल युरोपेली क्लवमा खेलिरहेकी सावित्रा भण्डारी साम्बाको विशेष उपस्थिति । साम्बाको उपस्थितिले गोर्खा कपमा उल्लेख्य सहभागिता मात्र रहेन, बेलायतमा रहेका नेपाली खेलाडी र खेलप्रेमीहरुलाई हौसला पनि प्रदान गरयो । त्यसैगरि, फुटबलमै विश्व कीर्तिमान बनाएका गिनिज बुक रेकर्ड होल्डर साजन डंगोलको उपस्थितिले पनि गोर्खा कप झन् विशेष बन्यो ।
सहभागिताका हिसावले पनि यस पटकको गोर्खा कप ऐतिहासिक बन्न सफल भयो । आयोजक तमुधिं यूकेका अनुसार, २० हजार टिकट छापिएकामा ति सबै विक्री भएपछि दर्शकहरु मैदानमा निशुल्क छिरेका थिए । यस अर्थमा पनि विगत वर्ष भन्दा गोर्खा कपको यो संस्करण व्यापक सहभागितामा सम्पन्न भयो ।
गोर्खा कपमा दशौं हजार दर्शक उपस्थिति र तिनले ल्याएका हजारौं गाडीले आवतजावतमा ट्राफिक व्यवस्थापन सधैं चुनौति बन्ने गर्छ । तर, यसपटक न प्रवेशमा लामो लाइन देखियो न बाहिरिंदा । दर्शकहरुले यसपटक ट्राफिक व्यवस्थापन निकै सुधार भएको प्रतिक्रिया दिइरहेका थिए ।
२३ औं गोर्खाकप कयौं कोणबाट ऐतिहासिक बनेपनि कतिपयले आयोजकका कमी कमजोरी समेत औंल्याएका छन् । तमुधिं यूकेले गोर्खा कपलाई कसरी समीक्षा गरेको छ ? कसरी सफल बन्यो यो वृहत इभेन्ट ? अब संस्थाका योजना के छन् ? आदि विषयमा नेपालीलिंकले तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङसंग पोष्ट इभेन्ट संवाद गरेको छ ।