आइतबार, जेठ १९, २०८२
05:42 | १०:२७

लन्डनमा दर्शक मायाबाट दंग छिन् नीति 

नेपाली लिङ्क मे ३०, २०२५

लन्डन । नेपाली चलचित्र क्षेत्रकी उदयीमान अभिनेत्री एवं पूर्व मिस नेपाल नीति शाह यतिबेला लण्डनमा छिन् । थर्ड आइले आयोजना गरेको तेश्रो नेपाली चलचित्र महोत्सव २०२५ मा सहभागी हुन उनी केही दिन अघि लन्डन आएकी हुन् । 

‘मिस नेपाल इन्टरनेशनल २०१७’ विजेता शाहले  ‘खजुरे ब्रो’बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । हाल उनी  महानायक राजेश हमालको जोडीका रुपमा ‘नरसिंहा अवतार’मा दर्शकमाझ आइसकेकी छन्। 

उनले दोस्रो फिल्म ‘ज्वाइँ साब’ बाट पनि राम्रो सफलता हासिल  गरिन्।

भर्खरै मात्र अमेरिकाको न्यूयोर्कमा आयोजित ‘८८४८ हिमालय म्यूजिक एण्ड फिल्म अवार्ड’मा उनले ’ज्वाइँ साब’ बाट सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको अवार्ड जित्न सफल भएकी छन्।

लन्डनमा उनी नेपाली समुदायसंग भेटघाटमा निकै व्यस्त रहेकी छन् । ‘यहाँका नेपालीहरु नेपाली फिल्म र कलाकारप्रति पनि निकै चासो राख्नु हुँदोरहेछ, मलाई धेरै जनाले नायिकाको रुपमा चिन्दा गौरव महशुस गरेको छु,’ शाहले भनिन् । 

नेपाली चलचित्र महोत्सवको सिलसिलामा बेलायत आएको जनाउंदै उनले नेपाली चलचित्रलाई अझ धेरै माया गरिदिन अपिल गरिन् । ‘मेरो तेस्रो चलचित्र ‘नरसिंहा’ अहिले नेपालका सिनेमा हलमा चलिरहेको छ र विदेशमा पनि चांडै आउंदैछ । माया र साथ दिएर थप हौसला बढाइदिन सबै दर्शकलाई अनुरोध छ’- उनले भनिन् ।

नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि चार उत्कृष्ट नेपाली चलचित्र चयन भएका छन्,जसमा उनी अभिनित चलचित्र ‘ज्वाइँसाब’ लगायत पुजार सार्की, सतिदेवी र हाफ जर्नी छन् । यस वर्ष फेस्टिभलमा विश्वभरबाट ३९८ वटा चलचित्रले आवेदन दिएका थिए ।

३१ मे २०२५ मा ग्रीनफोर्ड टाउन हलमा हुने समापन समारोहमा उत्कृष्ट चलचित्र र कलाकारलाई विशेष सम्मान गरिने थर्ड आइका अध्यक्ष विकास देवकोटाले बताए । विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरुलाई प्रोत्साहित गर्न महोत्सव गरिएको आयोजकको दावी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू