बिहीबार, जेठ १६, २०८२
23:32 | ०४:१७

‘ब्रिटेन गट ट्यालेन्ट’ को फाइनल पुगिन् नेपाली चेली विनिता

नेपाली लिङ्क मे २७, २०२५

लन्डन- बेलायतबाट सञ्चालित संसारकै प्रतिष्ठित रियालिटी शो ‘ब्रिटेन गट ट्यालेन्ट’ मा आफ्नो उत्कृष्ट नृत्य कौशल देखाउंदै एक नेपाली मूलकी चेली फाइनल राउन्ड प्रवेश गर्न सफल भएकी छन् ।

भारतको आसाम घर भएकी ९ वर्षीया विनिता क्षेत्री प्रतियोगिताको शीर्ष १० मा पर्दै फाइनल पुगेकी हुन्।

प्राविधिक रुपले भारतकी भएपनि जाति, भाषा, संस्कृति र मनदेखि पनसम्मले विनिता नेपाली हुन् । त्यसैले त छोरीको प्रस्तुति हेर्न जाँदा उनका बाबु अमर क्षेत्री नेपाली ढाकाटोपी ढल्काएर ब्रिटेन गट ट्यालेन्टका मंचहरुमा पुग्ने गरेका छन्।

नेपालीलिंकसंगको सम्पर्कमा बाबु अमरले दिएको जानकारीअनुसार गत शनिबार सम्पन्न सेमीफाइनल राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै विनिता फाइनल पुगेकी हुन्। विनितासंगै फाइनल राउन्डमा पुग्ने जम्मा १० जना प्रतिस्पर्धीहरु छन् । विनिता आफ्नो नृत्य कौशल देखाएर त्यहाँसम्म पुगेकी हुन् भने अन्य फाइनालिष्टहरुका आफ्ना आफ्नै फरक प्रतिभाहरु छन् ।

ब्रिटेन गट टयालेन्टजस्तो अन्तरराष्ट्रिय स्तरको रियालिटी शोमा लाखौं, हजारौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै अन्तिम १० सम्म पुग्नु चानचुने कुरा होइन र विनिता पनि सजिलै त्यहाँ पुगेकी हैनन्।

बाबु अमरका अनुसार शुरुमा तीन, चार राउण्ड अनलाइन अडिसन भएपछि मात्र विनिता फिजिकल अडिसनका लागि छनोट भएकी थिइन् ।

गत जनवरी महिनामा बेलायतको ब्ल्याकपुलमा सम्पन्न अडिसनमा निर्णायहरुको मन जितेर अगाडि बढेकी विनिता गत शनिबार सेमीफाइनल राउण्डमा समेत सबैलाई प्रभावित गर्दै फाइनलसम्म पुग्न पाएकी हुन् ।

यही मे ३१ तारिख लन्डनमा आयोजना हुने फाइनल राउन्ड प्रतिस्पर्धामा यीनै १० फाइनालिष्टबाट एक विजेता चयन हुनेछ । त्यसअघि मात्र दुई घन्टाको लागि पब्लिक भोटिङ पनि खुला हुनेछ । तर बेलायतको नम्बरबाट मात्र भोटिङ गर्न मिल्ने भएकाले विनिता र उनको परिवारले बेलायतमा बस्ने हामी नेपालीहरुबाट पनि विशेष साथ, सहयोगको आशा राखेका छन् ।

ब्रिटेन गट ट्यालेन्टको उपाधिसंगै २ लाख ५० हजार पाउण्डको नगद पुरस्कार छ । साथम ठूलो ख्याति र थुप्रै अवसरहरु त छंदैछन् । प्रतियोगिताको उपाधिनजिकै पुगेकी यी नेपाली चेली विनितालाई धेरै धेरै शुभकामना ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू