मंगलबार, १६ डिसेम्बर, २०२५
17:10 | २२:५५

युरोपेली सामानमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने घोाषणाबाट पछि हटे ट्रम्प

रासस/एपी मे २६, २०२५

जनवरी २०२० मा डाभोसमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन (बायाँ) का साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्विरः रोयटर्स

वासिङ्टन, जेठ १२ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली सङ्घ (ईयू) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयन जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् ।

यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो । अमेरिकी राष्ट्रपतिका अनुसार भोन डेर लेयनले ट्रम्पलाई उनी ‘गम्भीर वार्तामा जान चाहन्छु’ भनेकी थिइन् ।

वासिङ्टन फर्कने तयारीका क्रममा न्यूजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ । भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गर्नुभयो ।”

शुक्रबार सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै ईयूका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए । ती भन्सार शुल्क जुन १ देखि लागू हुने बताइएको थियो ।

तर भोन डेर लेयनसँगको फोनवार्ताले अहिलेका लागि तनाव सहज बनाएको देखिन्छ । “म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो”, ट्रम्पले आइतवार साँझ पत्रकारहरूसँग कुरा गरेपछि ट्रुथ सोसलमा उल्लेख गरेका छन् ।

“ईयू र अमेरिकाले संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापारिक सम्बन्ध साझा गर्दछन्”, आफ्नो पक्षबाट भोन डेर लेयनले भनिन्, “युरोप छिटो र निर्णायक रूपमा वार्ता अगाडि बढाउन तयार छ, राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू