बेलायतमा जुलाईदेखि ग्यास, बिजुलीको भाउ घट्दै


लन्डन । बेलायत बस्नेहरुको लागि थोरै भएपनि राहत महसुस गराउने एउटा खबर छ । आगामी जुलाई महिनादेखि बेलायतमा ग्यास र बिजुलीको भाउ घट्ने भएको छ ।
बेलायतको एनर्जी रेगुलेटर निकाय अफजेमले जुलाईदेखि ग्यास बिजुलीको भाउ ७ प्रतिशतले घट्ने जनाएको छ । भाउको यो गिरावटपछि एक औसत घरमा ग्यास बिजुलीको बिल पहिलाको तुलनामा मासिक एघार पाउन्डले कम हुनेछ ।
वार्षिक रुपमा बुझ्दा यसअघि औसतमा वार्षिक १ हजार ८ सय ४९ पाउण्डको बिल तिर्ने एक घरले जुलाईदेखि वार्षिक १ सय २९ पाउण्ड थोरै अर्थात् १ हजार ७ सय २० पाउण्डमात्रै बुझाए पुग्नेछ।
ग्यास बिजुलीको लागि भेरियबल रेटमा रहेर खपतअनुसार शुल्क बुझाउनेहरुको लागि जुलाइदेखि नै घटेको दर लागू हुनेछ । तर फिक्स्ड डिल गरेर निश्चित शुल्क बुझाउनेहरुको लागि भने तत्काल लाभ मिल्नेछैन ।
जुलाइदेखि हुन लागेको भाउ गिरावट बेलायतका इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका लागि भएपनि नर्दन आयरल्यान्डमा भने लागू हुनेछैन ।
हुन त यो भाउ घट्न लागेको जुलाइ महिना बेलायतमा ग्यास बिजुलीको खपत निकै न्यून हुने समर सिजन हो । तर त्यतिबेला घटेको भाउ केही महिनापछि वीन्टर सिजन आउँदासम्म पनि यथावत रहने अपेक्षा गरिएको छ ।
रेगुलेटर अफजेमले आम ग्राहकहरुलाई भाउ घट्ने बेलामा आफ्नो घरको ग्यास, बिजुलीको लागि वितरक कम्पनीहरुसंग नयाँ डिल खोज्न सुझाव दिएको छ । घटेको दरमा नयाँ डिल गर्दा आफ्नो एनर्जी बिलमा वार्षिक २ सय पाउण्डसम्म बचत गर्न सकिने सुझाव छ ।
यसअघि गत अप्रिल महिनादेखि मात्रै बेलायतमा ग्यास, बिजुलीदेखि पानीसम्मको भाउ बढाइएको थियो । त्यसैले जुलाईमा घट्दा समेत ग्यास बिजुलीको भाउ ठीक एक वर्षअघिको भन्दा पनि बढी नै रहनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५