शुक्रबार, जेठ १०, २०८२
22:57 | ०३:४२

लन्डनमा साम्बाको आगमन, गोर्खा कपमा सबैसंग भेट्न इच्छुक

नेपाली लिङ्क मे २२, २०२५

लन्डन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् ।

तमुधिं यूकेको आयोजनामा यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा हुने २३ औं गोर्खाकपमा सहभागी हुन उनी विहीबार अपरान्ह लन्डन उत्रिएकी हुन् ।

लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा साम्बालाई गोर्खाकप आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, सचिव विमल गुरुङ, एनआरएनए आइसीसी सदस्य दिलरास गुरुङ, खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घले, पूर्व स्पोर्टस सेक्रेटरी देव घले, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, सहारा यूके पूर्व अध्यक्ष कुसाङ गुरुङ, अजयजंग थापा लगायतले न्यानो स्वागत गरे ।

यसपपटकको गोर्खाकपमा प्रमुख आकर्षणका रुपमा साम्बाको उपस्थिति रहनेछ । लन्डन उत्रिएलगत्तै साम्बाले गोर्खाकपको अवसरमा बेलायत आउन पाएकोमा खुशी व्यक्त गर्दै बेलायतका फुटबलप्रेमी नेपालीहरुलाई भेट्न आफू उत्साहित रहेको बताइन्।

बेलायतवासी नेपालीहरुलाई गोर्खाकपको निम्तो दिंदै उनले सबैसंग त्यहीं भेट्न लालयित भएको पनि बताइन् ।

राष्ट्रिय खेलाडीलाई प्रोत्साहन र सम्मानका साथै उनीहरुको उपस्थितिले बेलायतका नेपाली खेलाडीलाई पनि हौसला मिलोस् भनेर साम्बालाई आमन्त्रण गरिएको तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले बताए । साम्बाको उपस्थितिले गोर्खाकप झन् विशेष बन्ने अपेक्षा उनले सुनाए ।

लमजुङ, सिम्पानी–७ पाम्चोकमा जन्मिएकी साम्बाले नेपाली महिला फुटबलकै इतिहासमा दुर्लभ र किर्तीमानी उपलब्धि हासिल गरेकी छन् । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने महिला खेलाडी हुन् ।

हाल फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङ’गाम्प’ बाट खेलिरहेकी साम्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

यस वर्ष गोर्खाकपमा मेन क्याटगोरीमा ३२, भेट्रानतर्फ १६ र महिला २ टीमबीच प्रतिष्पर्धा हुंदैछ । मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्यारासुट डिस्प्ले, एफएक ट्रफीकप उपाधि प्रदर्शनी, अंग्रेजी क्लबका खेलाडीहरुको उपस्थितिलगायतका आकर्षण रहने गोर्खाकपमा यसपटक नेपाली तथा विदेशी खाना, सामग्री, व्यापार, च्यारिटी, हेल्थ शिविर आदिका सय बढी स्टलसमेत रहनेछन् ।


तस्विर सौजन्यः आश गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू