शुक्रबार, जेठ १०, २०८२
22:53 | ०३:३८

एनआरएनए यूके निर्वाचन र महाधिवेशन जुलाइ २६ र २७ मा

नेपाली लिङ्क मे २२, २०२५

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आगामी जुलाइ २६ मा हुने भएको छ ।

बुधबार अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले यसअघि निर्धारित मिति सच्याउंदै २६ जुलाइमा निर्वाचन र २७ तारिखमा १२ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थाको नयाँ सदस्यता तथा नवीकरणका लागि समयसीमा पनि जुन २५ तारिख मध्यरातसम्म विस्तार गर्ने निर्णय गरेको महासचिव गोविन्द खरेलले नेपालीलिंकलाई जानकारी दिए ।

महाधिवेशन भिलेज होटेल फार्नबरोमा आयोजना गर्ने तयारी रहेको खरेलले बताए । महाधिवेशनमा नेपाल सरकारका मन्त्रीहरुसमेतलाई अतिथिका रुपमा निम्त्याइने भएको छ ।

बैठकले निर्वाचन समितिलाई आवश्यक प्राविधिक र ‘लजिस्टिक’ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

एनआरएनए यूकेले सदस्यता वितरणलाई तीव्र पार्ने निर्णय गर्दै उपाध्यक्ष मनिष खत्रीलाई सदस्यता अभियान संयोजक तोकेको छ । उनकै संयोजनमा यही आइतबार हुने गोर्खाकपमा पनि एनआरएनए यूकेको स्टल राखिने भएको छ ।

सदस्यता वितरणबारे प्रचारप्रसार गर्न बेलायतमा विभिन्न कार्यक्रम समेत गर्ने योजना बनाइएको छ ।

अध्यक्ष हित काजी गुरुङले अध्यक्षता र महासचिव गोविन्द खरेलले सञ्चालन गरेको बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य, बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसीका पदाधिकारी तथा एनआरएनए यूकेअन्तर्गत विभिन्न राज्य समन्वय परिषदका पदाधिकारीसमेतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू