बुधबार, जेठ ८, २०८२
23:42 | ०४:२७

इजरायली आक्रमणले गाजाका ९२ प्रतिशत घर ध्वस्त

रासस/एएफपी मे २०, २०२५

वासिङ्टन, जेठ ६ गते । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ ।

युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार गाजापट्टीका ९२ प्रतिशत घर क्षतिग्रस्त वा नष्ट भएका’ बताएको छ ।

राष्ट्रसङ्घीय एजेन्सीले ‘अनगिन्ती बासिन्दाहरू धेरै पटक विस्थापित भएका र आश्रय अभाव भएको’ उल्लेख गर्दै यो अझै पनि महत्त्वपूर्ण सहायता प्रदान गर्ने भूमिमा रहेको कुरामा जोड दिएको छ ।

युएनआरडब्लुएले आफ्नो विज्ञप्तिमा ‘गाजा पट्टीमा लगाइएको नाकाबन्दी हटाउने आवश्यकता’ औंल्याएको छ ।

जनवरी १९ देखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिनाको विरामपछि इजरायली सेनाले मार्च १८ देखि गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो ।

इजरायलले अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको गाजा पट्टीका विभिन्न क्षेत्रमा बमबारी जारी राख्दै दुई महिनाको अवधिमा युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू