बेलायतमा नेपाली चलचित्र महोत्सव शुभारम्भ ‘पुजार सार्की’ बाट


लन्डन । बेलायतमा तेश्रो नेपाली चलचित्र महोत्सव शुभारम्भ भएको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा चलचित्र ‘पुजार सार्की’ प्रदर्शन गरि महोत्सव शुभारम्भ गरिएको हो । थर्ड आइले आयोजना गरेको उक्त महोत्सव शुभारम्भ अघि धिमे बाजाका साथ रयाली गरि चलचित्रकर्मीहरु हलसम्म पुगेका थिए ।
औपचारिक कार्यक्रममा आयोजकका तर्फबाट ओजेश सिंहले विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरुलाई प्रोत्साहित गर्न महोत्सव गरिएको बताए ।
अब आउने सप्ताहन्त स्कटल्याण्ड र वेल्समा ‘ज्वाईं साहेब’ र ‘सतीदेवी’ चलचित्र देखाउने तयारी छ ।
नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि चार उत्कृष्ट नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नी छानिएका छन् । यस वर्ष फेस्टिभलमा विश्वभरबाट ३९८ वटा चलचित्रले आवेदन दिएका थिए । नेपाली वा अङ्ग्रेजी भाषामा निर्माण भएका चलचित्रलाई मात्र आवेदनका लागि मान्यता दिइएको थियो ।
यी चलचित्रहरु ३१ मे २०२५ मा ग्रीनफोर्ड टाउन हलमा हुने समापन समारोहमा विशेष सम्मान गरिने थर्ड आइका अध्यक्ष विकास देवकोटाले जनाए । समापन समारोह नेपाली सिनेमा, भाषा र सांस्कृतिक विविधताको उत्सव हुने अपेक्षा गरिएको देवकोटाले बताए ।
छानिएका चलचित्रहरूले सिर्जनात्मकता, मौलिकता र सामाजिक विषयवस्तुलाई समेटेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ ।
फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का, रविन भारतीलगायत छन् ।
महोत्सवमा छानिएका चलचित्रबारेः
१. पुजार सार्की
निर्देशकः दिनेश राउत
मुख्य कलाकारहरूः प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह
जातीय विभेद, सामाजिक अन्याय र ग्रामीण पहिचानको विषयमा आधारित यो चलचित्रले गहिरो सामाजिक सन्देश प्रवाह गरेको छ ।
२. ज्वाइँसाब
निर्देशकः वसन्त निरौला
मुख्य कलाकारहरूः जितु नेपाल, निति शाह
हास्यरसमा आधारित पारिवारिक व्यङ्ग्य चलचित्रले नेपाली समाजमा ज्वाइँप्रतिको दृष्टिकोण र अपेक्षालाई रमाइलो तर गम्भीर ढंगले प्रस्तुत गरेको छ ।
३. सतीदेवी
निर्देशकः लक्ष्मण सुवेदी
मुख्य कलाकारहरूः मलिका महत, हर्षिका ओली, मन्जिला बानियाँ
नारी सशक्तिकरणको कथा बोकेको यस चलचित्रले पितृसत्तात्मक परम्परा र सामाजिक शृङ्खलाबाट मुक्त हुने एक महिलाको संघर्ष चित्रण गरेको छ ।
४. हाफ जर्नी
निर्देशकः भील मगर
प्रवास र पहिचानको खोजमा आधारित हाफ जर्नी एक भावनात्मक यात्राको कथा हो, जुन आत्मअन्वेषण र आत्मस्वीकृतिको गहिरो अनुभव दिलाउने निर्माण पक्षको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५