शनिबार, ३० अगस्ट, २०२५
16:59 | २१:४४

बेलायतमा प्रथम साझा रनिङ शिल्ड भलिबल हुंदै, टीम दर्ता खुला

नेपाली लिङ्क अगस्ट ३०, २०२५


लन्डन- बेलायतको मिडल्यान्डमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्था साझा नेपाली समाज यूकेको आयोजनामा एक खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

सेप्टेम्बर ८ तारिख सोमबारका दिन बेलायतस्तरीय ‘प्रथम साझा रनिङ शिल्ड भलिबल प्रतियोगिता’ तय भएको हो ।

नटिङहमको एसर ग्रोभ, कभ्यालियर्स एण्ड क्यारिङटन क्रिकेट क्लबमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताका संयोजक एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष दीपक सापकोटाका अनुसार प्रतियोगितामा सहभागिताका लागि बेलायतभरका नेपाली खेलाडीका टीमहरुलाई दर्ता खुला गरिएको छ ।

इच्छुक टीमहरुले आयोजकलाई सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन् । टीम दर्ता शुल्क २ सय ५० पाउण्ड लाग्नेछ ।

सेप्टेम्बर ५ तारिखभित्र टीम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । टीम दर्ताका लागि संयोजक दीपक सापकोटा  07796065638 र सहसंयोजक शिव खराल 07791304035 लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगिताका विजेता टीमहरुलाई आकर्षक पुरस्कार व्यवस्था गरिएको छ । जसअनुसार विजेता टीमले नगद १५ सय पाउण्ड तथा उपविजेताले ७ सय पाउण्डसहितको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रमुख प्रायोजक ‘एभरेष्ट एण्ड को अकाउन्टिङ’ छ ।

प्रतियोगितालाई अर्को वर्षदेखि युरोपस्तरीय बनाउने योजना आयोजकको छ । आगामी वर्षदेखि अन्डर १८, ओभर ५०, महिलालगायतका छुट्टै क्याटेगोरीहरु पनि थपिने संयोजक सापकोटा बताउँछन् ।

साझा नेपाली समाज यूकेका अध्यक्ष सापकोटाकै संयोजनमा यसअघि हरेक वर्ष मिडल्यान्ड क्रिकेट लिग आयोजना हुंदै आएको छ । बेलायतका नेपाली युवालाई खेलप्रति प्रोत्साहन गर्ने लक्ष्य लिएको संस्थाले यसपटकदेखि भलिबल प्रतियोगिता शुरु गरेको अध्यक्ष सापकोटाले बताए । आउँदा दिनमा क्रिकेट, भलिबलसंगै फुटबलसमेत आयोजना गर्ने लक्ष्य राखिएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू