आफू पढेको स्कुललाई सहयोग जुटाउन गायिका पवित्रले यूकेमा गरिन् एकल साँझ



लन्डन- हाल बेलायत भ्रमणमा रहेकी गायिका पवित्र गुरुङ ३१ अगस्ट आइतबार एकल साँझमा प्रस्तुत भइन् ।
मिचेटस्थित तमुधीं भवनमा खचाखच दर्शकबीच पवित्रको ‘म्यूजिकल सोलो वीथ पवित्र गुरुङ एन्ड डीएमटी ब्यान्ड च्यारिटी नाइट’ भएको हो ।
कन्सर्टमा चर्चित गायिका पवित्र गुरुङले १३ वटा कालजयी र तीन वटा आधुनिक गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारिन् ।
कन्सर्टबाट करिब ८ लाख रुपियाँ उठिसकेको छ र रकम आउने क्रम जारी छ।
गोर्खा मिडियाको आयोजनामा भएको उक्त कार्यक्रमको नेतृत्व गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ र सहसम्पादक प्रकाश गुरुङले गरेका थिए ।
सबु गर्बुजा पुनले ‘हेल्थ एन्ड सेफ्टी’ जानकारी दिएका थिए । डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङले बाँसुरी र सारंगी, मीनबहादुर गुरुङले मादल, रेसम पाचे मगरले तबेला र ढोलक, कुमार गुरुङले किबोर्ड, सोनाहङ राईले हार्मोनियम र भोकल, सुशील गुरुङले लिड गितार, सन्तोष राईले रिदम गितार बजाएका थिए ।
राना साउन्ड टेक्निसियन र ओम लामाले भिडियो टेक्निसयनको अभिभारा निभाएका थिए ।
कार्यक्रम सञ्चालनका क्रममा सन्ध्या गुरुङ, सबु गर्बुजा पुन, रोशनी गुरुङ, सरिना घले गुरुङ, बिबिसा पैगीलामा गुरुङ, गरीमा गुरुङ र संगीना गुरुङले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
उनीहरूलाई तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङ र आयोजक मिलन तमुले मायाको चिनो, सर्टिफिकेट र खादा लगाएर धन्यवाद दिएका थिए ।
तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले शुभकामना मन्तव्य दिंदै कार्यक्रम सफलताको कामना दिए र सबैलाई साथ, सहयोगका लागि आव्हान गरे ।
नेपालको राष्ट्रिय गीत लाइभ ब्यान्डसँग गाउँदै बेलुका सात बजे कार्यक्रम सुरुआत भएको थियो ।
सो अवसरमा पवित्रको आफ्नो परिचय र उनी पढेको गोल्फु भन्ज्याङ सेकेन्डरी स्कुलको पनि भिडियो देखाइएको थियो ।
पवित्रलाई सरप्राइजका लागि उनका म्यूजिक टिचर चन्दन कुमार श्रेष्ठको शुभकामना भिडियो देखाइएको थियो । त्यो दृश्य देख्दा पवित्रले हर्षको आँसु झारेकी थिइन् । सधैँ बहिनीको सांगीतिक क्षेत्रमा साथ सहयोग दिइरहने दिदी गरीमा गुरुङ पनि उनीसँगै भावुक भएको दृश्य देखिन्थ्यो । त्यो समय हलमा सन्नाटा नै छाएको थियो ।
कार्यक्रम सञ्चालक प्रकाश गुरुङले गुरु चन्दन कुमार श्रेष्ठलाई सम्पर्क गरी उक्त भिडियो बनाएका थिए ।
कन्सर्टमा गीतसंगीतमा चासो राख्ने र परोपकारी भावना भएकाको उल्लेखनीय उपस्थिति थियो । तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान जेपी, ग्रेटर रशमोर नेपाली कम्यनिटीका अध्यक्ष लिला सेलाङ माबो, लमजुङ समाज युकेका अध्यक्ष पूर्णराज गुरुङ लगायत कार्यक्रममा उपस्थित थिए ।
यसैगरी, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, गुरुङ समाज केन्टका अध्यक्ष गोलमान गुरुङ, पञ्चासे हर्पनडाँडा समाज यूकेका अध्यक्ष देउकाजी गुरुङ, इलाम पोखरी समाज यूके अध्यक्ष परशुराम गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङ गरी ४६ वटा समाजका उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्षको पनि उपस्थिति थियो ।
पत्रकार आश गुरुङ, दुत बहादुर पुन, एसके गुरुङलगायतको पनि सहभागिता थियो । कार्यक्रम सफल बनाउन सुरुबटै तमुधीं यूके अध्यक्ष गुरुङ, गोर्खा प्यालेस रेस्टुरेन्टका एमडी सूर्य गुरुङ, डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङले साथ र सहयोग गरेका थिए ।
गोर्खा प्यालेसले सुपथ मूल्यमा खाना बन्दोबस्त गरेको थियो । बियर र अन्य पेय पदार्थ एभरेस्ट होलसेलका एमडी एबी गुरुङले निःशुल्क उपलब्ध गराएका थिए ।
तमुधीं यूकेले हल निःशुल्क दिएको थियो । उक्त कार्यक्रम तोकिएको समयमै सुरु र अन्त गर्न सफल भएकोमा दर्शकले आयोजक गोर्खा मिडियाप्रति आभार व्यक्त गरे ।