बिहीबार, जेठ २, २०८२
14:57 | १९:४२

विश्वकप लिग २ सिरिज खेल्न लन्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टोली

नेपाली लिङ्क मे १५, २०२५


लन्डन- बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ ।

हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरे । परिक्षा भएका कारण कप्तान रोहित पौडेल भने १७ तारिख मात्र बेलायत आइपुग्ने पाण्डेले बताए ।

माया इभेन्टसले शनिबार ति खेलाडीको सहयोगार्थ लन्डन साउथ ह्यारोको नेवा छेमा च्यारिटी डिनर गर्ने तयारी गरेको छ ।

निर्देशक पाण्डेले च्यारिटी डिनरमा आएर खेलाडीलाई सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । 

स्कटल्यान्ड जानु अघि नेपाली टिमले लन्डनमा दुई दिन आराम गर्नेछन् र एमसीसी, कार्डिफ युनिभर्सिटी, ग्लस्टरलगायतका खेलाडीसंग केही अभ्यास खेल खेल्ने कार्यक्रम छ ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । ‘नेपालमा पनि दुई महिना अघिबाट तयारी गरेका छौं, यहाँ पनि प्राक्टिस गर्ने प्रशस्त समय लिएर आएका छौँ ‘ ज्ञानेन्द्र मल्लले भने ।

आफूहरु पूर्ण तयारीकासाथ आएको र स्कटल्याण्ड जानुअघि यूकेमा अभ्यास गर्ने पर्याप्त समय भएकाले ठूलो सहयोग पुग्ने सन्दीप लामिछानेले बताए ।

लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुने जनाइएको छ ।


टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।

टी-२०आई सिरिजका लागि थप किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम छानिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू