भारतद्वारा पाकिस्तानमाथि हवाई आक्रमण


नयाँ दिल्ली, वैशाख २४ गते । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ।
भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानबाट भारतमाथि हुने आतंकवादी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।’
पाकिस्तानी सेनाले पाँचवटा भारतीय विमान र एउटा ड्रोन खसालेको बताएको छ। भारतले यी दावीहरूको जवाफ अहिलेसम्म दिएको छैन।
पाकिस्तानका अनुसार, भारतले तीन फरक क्षेत्र पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोटली एवं पाकिस्तानी प्रान्त पञ्जाबको बहावलपुरमा आक्रमण गरेको हो ।
पाकिस्तानी अधिकारीहरूले आक्रमणमा अहिलेसम्म आठ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्।
यसैबीच, भारतले भारत प्रशासित कश्मीरमा पाकिस्तानी गोलाबारीबाट तीन जना सर्वसाधारणको मृत्यु भएको बताएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्दै बलियो जवाफ दिने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५