सोमबार, वैशाख २२, २०८२
23:53 | ०४:३८

हेगमा कश्मीर गोलीकाण्डविरुद्ध शान्ति र्‍याली, मारिएका नेपालीप्रति श्रद्धाञ्जली

नेपाली लिङ्क मे ४, २०२५

हेग (नेदरल्याण्ड्स)–कश्मीरमा गत अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरि भएको गोलीकाण्डविरुद्ध हेगमा विशाल शान्ति र्‍याली आयोजना गरिएको छ।

प्रदर्शनकारीहरुले हेगका सडकमा प्रदर्शन गर्दै पाकिस्तान दूतावासतर्फ एक विशाल शान्ति र्‍याली गरेका हुन् ।

डच प्रहरीका अनुसार उक्त प्रदर्शन नेदरल्याण्ड्समा भएको सबैभन्दा ठूलो हिन्दू प्रदर्शनमध्ये एक थियो, जसमा करिब २५० जना सहभागी थिए ।

ग्लोवल ह्यूमन राइट्स डिफेन्सको सहकार्यमा डमरु फाउन्डेशन इन्टरनेशनलले आयोजना गरेको उक्त प्रदर्शन हालै कश्मीरमा भएको दर्दनाक हिंसाविरुद्ध थियो ।

अप्रिल २२ मा भएको उक्त हिंसात्मक घटनामा आतंककारीहरुले धर्म सोधेर हिन्दू पहिचान भएका व्यक्तिहरूलाई उनीहरूकै परिवारका सदस्यहरूको अगाडि गोली हानी हत्या गरेका थिए। दुःखद कुरा, मारिएकामध्ये नेपालबाट घुम्न गएका २७ वर्षीय सुदीप न्यौपाने र अन्य २५ जना भारतीय पर्यटक थिए ।

एकता र शान्तिको बलियो सन्देश

हेगको केन्द्रबाट सुरु भएको र्‍यालीमा विभिन्न पृष्ठभूमिका मानिसहरूको सहभागिता थियो। सहभागीले न्यायपूर्ण विश्वमा हिंसा र आतंकवादको कुनै स्थान नरहेको स्पष्ट सन्देश दिएका थिए।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता, जलवायुकर्मी तथा पुरस्कार विजेता फिल्म निर्माता-निर्देशक ललित भुसालले प्रदर्शन कुनै खास धार्मिक समुदायविरुद्ध नभई आतंकवादविरुद्ध भएको स्पष्ट पारे । ‘यो विभिन्न समुदाय र देशका हिन्दूहरूबीच शान्ति प्रवद्र्धन गर्ने र एकता देखाउने उद्देश्यले गरिएको थियो’, भुसालले भने।

उनले पश्चिमी मिडियाले हिन्दूहरूको पीडालाई बेवास्ता गरेको र उनीहरूको हत्यालाई उचित महत्व नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।

भुसालले अगाडि भने, ‘आतंकवादी संगठनहरूले भारतमा शान्तिपूर्वक बसिरहेका हिन्दू र मुस्लिमहरूलाई विभाजित गर्ने षड्यन्त्र गरिरहेका छन्। नेपाल वा भारतमा हामीले यसको प्रभाव पर्न दिनु हुँदैन । हाम्रा दुवै देशमा वहुधार्मिक पृष्ठभूमि भएका मानिसहरू शान्तिपूर्ण छिमेकमा सँगै बसिरहेका छन् र कुनै पनि समस्यालाई अन्तरधार्मिक संवादमार्फत समाधान गर्नुपर्छ ।’

प्रदर्शनमा अधिकारकर्मी तथा फिल्म निर्माता-निर्देशक ललित भुसाल

अधिकारकर्मी भुसालले मृतक नेपाली पर्यटक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै हेगमा आयोजना गरिएको मैनबत्ती जुलुसमा आफू पनि सहभागी भएको जानकारी दिए।

उनले भने, ‘कसैले पनि आफ्नो विश्वासको नाममा यसरी ज्यान गुमाउनु हुँदैन। हामी शान्तिपूर्ण र कूटनीतिक समाधानको आशा गर्दछौं। युद्ध कुनै समाधान होइन, यदि युद्ध भयो भने दुवैतर्फ निर्दोष मानिसहरूले फेरि ज्यान गुमाउनेछन् ।’

र्‍यालीका सहभागीले शान्तिको माग गर्दै विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । कार्यक्रममा उपस्थित सबैमा परिवर्तनका लागि साझा इच्छाशक्ति झल्किएको थियो। स्थानीय अधिकारीहरूले सुरक्षा व्यवस्था मजबुत पारेका थिए र प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।

आयोजकहरूको महत्वपूर्ण भूमिका

हेगमा मुख्यालय रहेको ग्लोवल ह्यूमन राइट्स डिफेन्सले शान्ति र्‍यालीको नेतृत्व गरेको थियो । यो संस्था विश्वभरका अल्पसंख्यकहरूको अधिकारको संरक्षणका लागि क्रियाशील छ र कश्मीर जस्ता संवेदनशील क्षेत्रहरूमा विशेष ध्यान दिन्छ।

त्यसैगरी, अल्मेरेमा अवस्थित डमरु फाउन्डेशन इन्टरनेशनलले पनि यस कार्यक्रम योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यो संस्था शान्ति र मानव अधिकारको क्षेत्रमा कार्यरत छ।

र्‍यालीमा विभिन्न मानव अधिकार संगठनका प्रतिनिधि साथै विभिन्न समुदायका नागरिकको पनि उल्लेख्य सहभागिता थियो। यसले कश्मीरमा भएको हिंसाविरुद्ध सामूहिक आवाज बुलन्द गर्ने सन्देश दिएको थियो।

यो शान्ति प्रदर्शनले हिंसा र अन्यायविरुद्ध निरन्तर लड्न आह्वान गरेको थियो। सहभागीहरूले कश्मीरको स्थितिलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

आयोजकहरूले सहभागीको व्यापक समर्थनका लागि कृतज्ञता व्यक्त गरे । हेगमा भएको यो प्रदर्शनले साझा उद्देश्यका लागि एकजुट हुँदा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने आशा जगाएको अभियन्ता भुसालले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू