आइतबार, वैशाख २१, २०८२
21:54 | ०२:३९

बेलायती राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको उपलक्ष्यमा दूतावासमा ‘रिसेप्सन’ (फोटो फिचर)

नेपाली लिङ्क मे ३, २०२५

लन्डन– बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको खुशीयालीमा शुक्रबार दूतावासमा रिसेप्सन गरिएको छ ।

सो अवसरमा स्वागत मन्तव्य दिने क्रममा राजदूत घिमिरेले 
राजा चार्ल्ससंग भएको कुराकानी उल्लेख गर्दै राजा चार्ल्समा नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको पाएको बताए । उनले आफूसंगको वार्तामा राजाले नेपाल भ्रमणका अविष्मरणीय क्षण स्मरण गर्दै नेपालको सहयोगमा बेलायतको साथ सधैं रहिरहने प्रतिवद्धता दोहोरयाएको जनाए ।

बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक समारोहबीच राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजाले नेपालको विकास प्राथमिकता र यसको प्रगतिका लागि समर्थन समेत जनाएको राजदूतले बताए ।

राजा चार्ल्सले सन् १८१६ मा स्थापित बेलायत नेपालबीच २०९ वर्ष लामो कूटनीतिक सम्बन्ध स्मरण गर्दै अझ राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिंदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

प्रमुख अतिथी असिस्टेन्ट मार्सल अफ द डिप्लोम्याटिक कर्प्स एलनोर म्याक्यूले राजदूत घिमिरेलाई बधाई दिंदै बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र बेलायती सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन् । उनले राजाले गरेको नेपाल भ्रमण र उनको नेपाल प्रेमबारे पनि बताएकी थिइन् । उनले बेलायती सेनामा गोर्खाहरुको योगदानको समेत प्रशंसा गरिन् ।

सन् १९३४ मा लन्डनमा नेपालको पहिलो कूटनीतिक मिसन स्थापना भएयता घिमिरे बेलायतका लागि २३ औं नेपाली राजदूत हुन् । उनले गत जनवरीमा आफ्नो कार्यभार सम्हालेका थिए ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको उक्त समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेलायतस्थित विभिन्न मुलुकका राजदूत, हाइ कमिसनर, बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाली समुदायका गन्यमान्य व्यक्तित्व लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू