आइतबार, १५ फ्रेब्रवरी, २०२६
08:54 | १४:३९

नेपाली व्यवसायी मिलेर बेल्जियममा खोले ‘ग्रीनसी फुड’

नेपाली लिङ्क मार्च २३, २०२५


लन्डन- नेपाली व्यवसायीहरूको एक समूहले बेल्जियममा २५ करोड रुपैयाँ बढी लगानीमा ग्रीनसी फुड प्रा. लि. शुरु गरेको छ । सन् २०२० देखि एशियाली खाद्य सामग्री आपूर्ति गर्दै आएको एन्त्वेरपेन, बेल्जियमस्थित फुड एसिया कम्पनीले आफ्नो सफलतापछि ग्रीनसी फुड प्रा.लि. स्थापना गरेको हो।

यस कम्पनीले साल्मोन, टूना लगायत विभिन्न समुद्री खाद्य पदार्थ तथा ताजा कृषि उत्पादनहरू होलसेलमा आपूर्ति गर्ने लक्ष्य राखेको छ। फुड एसिया कम्पनी ७ नेपालीको संयुक्त लगानीमा पाँच वर्ष अघि स्थापना भएको हो ।

अहिले सो कम्पनीले ४०० भन्दा बढी रेस्टुरेन्ट तथा खाद्य पसलहरू विशेषतः सुसी, थाई र चिनियाँ रेस्टुरेन्टहरूलाई उच्च गुणस्तरीय सामग्री आपूर्ति गर्दै आएको छ। 

कम्पनीले ४५० बढी उत्पादन निर्यात गर्दै आएको छ भने ७५ भन्दा बढी उत्पादन आफ्नै ब्रान्डमा उत्पादन गर्दै आएको छ। कम्पनीले छोटो समयमा व्यावसायिक सफलता हासिल गर्न सफल भएको छ ।

विशेष गरी सुसी रेस्टुरेन्टका लागि आवश्यक सामग्री सहज रूपमा वितरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कम्पनीले वार्षिक १० मिलियन बढीको खाद्य सामग्री बिक्री गर्दै आएको छ ।

कम्पनीका निर्देशक कासी दनैले भने, ‘हामीले सुसी रेस्टुरेन्टहरूमा आवश्यक पर्ने साल्मोन, टूना, बटरफिस, एवोकाडो, सलाद आदि सामग्री सहज रूपमा उपलब्ध गराउने र उपभोक्तालाई गुणस्तरीय उत्पादन उचित मूल्यमा दिने सोचकासाथ ग्रीनसी फुड सुरु गरेका हौं।’

ग्रीनसी फुड प्रा. लि. उद्घाटन समारोहमा नेपालका राजदूत सेवा लम्साल, बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेवरका सल्लाहकार तथा एन्त्वेरपेन सदस्य स्टेन डे रूस्टर तथा नेपालकी अवैतनिक वाणिज्यदूत इङ्ग्रिड क्युस्टर-लेइटेनले संयुक्त रूपमा रिबन काटेर औपचारिक शुभारम्भ गरेका थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै स्टेन डे रूस्टरले भने, ‘एन्त्वेरपेनमा १७६ मुलुकका नागरिक बसोबास गर्छन्। तपाईंहरूले यहाँको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउनुभएको छ, जुन अत्यन्तै सह्रानीय छ। हामी सधैं तपाईंहरूको साथमा छौं ।‘

उद्घाटन समारोहमा राजदूत लम्सालले भनिन्, हाल व्यापारको युग हो, तपाईंहरूले चेन सप्लाई प्रणालीको अवधारणा लिएर व्यवसाय विस्तार गर्दै हुनुहुन्छ, यसले बेल्जियममा नेपाली समाजलाई चिनाउने मात्र होइन, सशक्त पार्नेछ भन्ने आशा लिएको छु।‘

कार्यक्रममा एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, व्यवसायी संघका अध्यक्ष चिरनकुमार खवासलगायत सामाजिक अभियन्ता, व्यवसायी तथा अन्य विभिन्न व्यक्तिहरूको उपस्थिति थियो।


एन्त्वेरपेन औद्योगिक क्षेत्रमा स्थापना गरिएको उक्त कम्पनीले बेल्जियमसंगै बेनिलक्स क्षेत्र (बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग) मा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। 

अर्को वर्षदेखि नेपाली उत्पादनहरू समेत प्रवर्द्धन गर्दै नेपाली तथा भारतीय उत्पादनको छुट्टै केन्द्र स्थापना गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका प्रवन्धक तथा निर्देशक भिम जोशीले अतिथिहरुलाई पसलको अवलोकन गराउनुका साथै ग्रीनसी फुडका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू