आइतबार, ७ सेप्टेम्बर, २०२५
21:09 | ०१:५४

राजदूतले भेटे बेलायती रक्षामन्त्री, गोर्खा मुद्दा टुंगो लगाउन प्राविधिक कमिटीको बैठक छिट्टै

नेपाली लिङ्क मार्च २१, २०२५

लन्डन — बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती रक्षा मन्त्री (भेट्रान्स मिनिस्टर) अलिस्टेयर कार्न्सबीच उनकै कार्यालयमा महत्त्वपूर्ण भेटघाट भएको छ।

१९ मार्च बुधबार भएको भेटघाटमा द्विपक्षीय सम्बन्धलाई मजवुत पार्ने विषयहरूमा छलफल भयो जसमा दीर्घकालदेखि थाती (पेन्डिङ) रहेका द्विपक्षीय मुद्दाहरू पनि समावेश गरिएका थिए।

यस अवसरमा दुवै पक्षले आपसी सहयोग बढाउने र सम्बन्धहरू अझ प्रगाढ बनाउने आवश्यकतामा जोड दिएका राजदूत घिमिरेले जनाएका छन् । 

मन्त्री कार्न्सले नेपाल र यूकेबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबूत बनाउने आशा व्यक्त गरे।

यो भेटघाटले दुवै देशबीचको सहकार्य र सम्बन्धलाई अझ बलियो बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

भेटमा राजदूत घिमिरेले मन्त्रीसँग भूतपूर्व गोर्खा मुद्दा धेरै पुरानो भएकाले छिट्टै समाधान गर्न अनुरोध गरेको उपनियोग प्रमुख विपिन दुवाडीले नेपालीलिंकसँग बताए । 

भेट्रान्स मन्त्रीले गोर्खा मुद्दा जटिल र निकै खर्चिलो भएकाले दुवै पक्षले आपसी दिनमा अझ गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्ने विश्वाससहित प्राविधिक कमिटीको बैठक छिट्टै बस्ने बताएको दुवाडीले जनाए । 

उक्त भेटमा उपनियोग प्रमुख दुवाडी र सैनिक सहचारी कर्णेल अनुप शाह पनि सहभागी थिए । यसअघि बेलायती रक्षामन्त्रीको गोर्खा मुद्धा हेर्ने प्रतिनिधिहरु दूतावासमै आएर भेटघाट गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू