मंगलबार, चैत ४, २०८१
01:44 | ०७:२९

गोर्खा अभियन्ताले भेटे राजदूत, कूटनीतिक पहलबाटै समाधान खोज्नुपर्नेमा जोड

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२५

लन्डन- भूतपूर्व गोर्खा आन्दोलनका अभियन्ताहरुले बेलायतका लागि नयाँ नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग भेटवार्ता गरेका छन्।

जारी त्रिपक्षीय वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्ने ‘जी टेन’ समूहका सदस्यहरुले बुधबार लन्डन दूतावास पुगेर हालै कार्यभार सम्हालेका राजदूत घिमिरेलाई भेटेका हुन्।

भेटमा सहभागी गेसो कार्यवहाक सभापति धर्म तामाङले नयाँ राजदूतसंग परिचयात्मक भेटवार्ता गरिएको नेपालीलिंकलाई बताए । त्यस अवसरमा राजदूत घिमिरेलाई जारी त्रिपक्षीय वार्तामा हालसम्म भएको प्रगतिबारे जानकारी गराइएको उनले बताए ।

गोर्खा अभियन्ताहरुले पछिल्लो समय अवरुद्ध बनेको वार्ता सुचारु गर्न र गोर्खाहरुलाई न्याय मिल्ने गरी तार्किक निष्कर्ष दिनका लागि प्रभावकारी भूमिका निर्वाह गरिदिन राजदूतलाई आग्रह गरेका छन्।

सो अवसरमा राजदूत घिमिरेले भूतपूर्व गोर्खाहरुको मुद्धामा आफू जानकार रहेको र यससम्बन्धि विगतका ‘डकुमेन्ट’हरु अध्ययन गरिरहेको बताएका थिए। जुनसुकै समस्या समाधान पनि संवादबाट मात्रै सम्भव हुने भएकाले गोर्खाहरुको मुद्धा पनि कूटनीतिक बाटोबाटै सुल्झाउनुपर्ने धारणा उनको थियो।

कूटनीतिक मर्यादा र शिष्टतामा रहेर गोर्खा मुद्धाको समाधान खोज्न आफू प्रतिवद्ध रहेको जनाउँदै राजदूत घिमिरेले सबै गोर्खा संस्था र अभियन्ताहरुबाट आवश्यक सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए।

राजदूतसंगको भेटवार्तामा ‘जी टेन’ समूहका सदस्यहरु गेसो कार्यवहाक सभापति धर्म तामाङ, बिजिडब्लुएस अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, आमरण अनसनकर्ताद्वय पुष्पा राणा घले र धन गुरुङलगायतको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू