बेलायतका नेपाली व्यवसायी तथा अभियन्ताहरुले गरे राजदूत घिमिरेसंग अन्तरक्रिया



लन्डन । बेलायतस्थित नेपाली व्यवसायी तथा अभियन्ताहरुले बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग अन्तरक्रिया गरेका छन् ।
बिहीबार सांझ क्यानरी वार्फस्थित होली काउ फाइन डाइनमा आयोजित कार्यक्रममा उनीहरुले राजदूत घिमिरेलाई सफल कार्यकालको शुभकामना दिंदै लन्डनमा औपचारिक स्वागत गरे ।
अन्तरक्रियामा व्यवसायी तथा पेशेवरहरुले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका जटिलता र नेपालमा वैदेशिक लगानीका प्रशासनिक झण्झट, बेलायत–नेपाल सम्बन्ध जनस्तरमा थप प्रगाढ बनाउन बेलायतस्थित नेपाली डायस्पोराको भूमिका, नेपालको आर्थिक समृद्धिमा सरकारको अपेक्षा, भूतपूर्व गोर्खा समस्या आदि विषयमा धारणा राखे ।
नेपालले विदेश बस्ने नेपालीलाई नेपाली भनेर स्वीकारेन भने त्यो देशका लागि घाटा हुने पनि सहभागीको तर्क थियो ।
राजदूत घिमिरेले नेपाल र नेपालीका लागि लाभ हुने गरि आफूले राजनीतिक, आर्थिक एजेण्डा लिएर आएको उल्लेख गर्दै व्यवसायीहरुलाई नेपालमा लगानीको सहजीकरण गरिदिने प्रतिवद्धता जनाए ।
राजदूत घिमिरेले बेलायत र नेपाल दुवै पक्षबाट उच्चस्तरिय भ्रमण, लामो समयदेखि थाती रहेको भूतपूर्व गोर्खा समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका थिए ।
राजदूतले अब मातृभूमिका लागि डायष्पोराले संवेदनशील भएर काम गर्नुपर्ने बेला आएको समेत बताए ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयका जटिलता प्रस्तुत गर्दै संविधानले दिएको अधिकार समेत उपभोग गर्न नपाइएको बताए । होली काउ ग्रुपका अध्यक्ष आचार्यले नेपालमा लगानी गर्न यहांको नेपाली डायष्पोरा आफैं सक्षम रहेको समेत बताए ।

व्यवसायी दयानिधि सापकोटाले नेपाल जांदा आउंदा विमानस्थलमा कर्मचारीहरुले दिने सास्तीदेखि अन्य व्यवसायिक झन्झटबारे तीतो अनुभव सुनाए ।
चार्टर्ड अकाउन्टेन्ट तथा व्यवसायी एल एन पाण्डेले नेपालमा कम्पनी खोल्नदेखि अरु काम गर्न कर्मचारीतन्त्रबाट निकै सास्ती झेल्नुपरेको अनुभव सुनाए ।
व्यवसायी उत्तम नेपालले विविध असहजताका कारण आफ्नो फेशन उद्योगका लागि जनशक्ति र कच्चा पदार्थ समेत नेपाल छाडेर अन्यत्रबाट ल्याउनु परेको जनाए ।
रेमिटेन्स व्यवसायी कमल पौडेलले गैर कानूनी हुण्डी बढिरहेको बताउंदै कानूनी रुपमै नेपालबाट बेलायत पैसा ल्याउन मिल्ने व्यवस्था भए सरकारलाई समेत राजस्व प्राप्त हुने धारणा राखे ।
कार्यक्रममा दूतावासका प्रथम सचिव उद्धव न्यौपानेले अध्यागमन ऐनबारे प्रष्टयाउंदै लन्डन दूतावासबाट अहिले तुरुन्तै भिजा दिने व्यवस्था र कन्सुलर सेवा दिइने उल्लेख गरे ।
कार्यक्रममा विश्वआदर्श पण्डित, डा. बच्चु कैलाश कैनी, विकास नेपाल, कमल भण्डारी, एल एन पाण्डे, संगीता मरहट्ठा, विजन भट्ट, शिव कंडेल, सूर्य गुरुङ, सुरेश पौडेल, राजन कंडेल, उत्तम नेपाल, कमल पौडेल, दयानिधि सापकोटा, दधि आचार्य, सुमन शर्मा लगायतले परिचयसहित आआफ्नो धारणा र सुझाव राखेका थिए ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



