शनिबार, मंसिर २९, २०८१
16:25 | २२:१०

छेन्दुस्थित नेपाली महावाणिज्य दूतावास निरीक्षणमा परराष्ट्रमन्त्री

रासस नोभेम्बर २९, २०२४


काठमाडौं, १४ मंसिर- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन् । त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।

मन्त्री राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।

यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् । 

मन्त्री डा. राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । 

महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत पनि सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू