शनिबार, मंसिर २९, २०८१
16:40 | २२:२५

पोषणको लापरवाहीले जोखिम बन्दैछ मानिसको जीवन

विकलचन्द्र आचार्य नोभेम्बर २८, २०२४

विकलचन्द्र आचार्य

संसारमा जम्मा ४ दशमलव ३ प्रतिशत मानिसमा मात्र कुनै स्वास्थ्य समस्या नभएको तर एक तिहाई अर्थात २ अर्ब ३० करोड मानिसमा पाँच भन्दा बढी रोग भएको सन् २०१३ को लान्सेटमा प्रकाशित ग्लोवल बर्डन अफ डिजिज स्टडिजको अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले १८८ देशमा गरिएको २०० रोग र अवस्था तथा २३०० रोगहरुले ल्याएको परिणामबारे विश्लेषण गरेका थिए । यसमा धेरै रोग जीवनशैलीसंग सम्बन्धित छन् । सबै मानिस आवश्यक जीवनशैली परिवर्तन गर्न चाहना गर्दैनन् तर सबै मानिसलाई जीवनशैली परिवर्तनले सुरक्षित तथा स्वास्थ्यका लागि धेरै प्रभावकारी छ भन्ने जानकारीको अधिकार भने दिनुपर्छ ।

प्राय मानिसलाई आफूले अंगालिरहेको जीवनशैली श्रेयकरलाग्छ । बिरामी नपरी, बिज्ञले सुझाव नदिइकन या कुनै मेडिकल घटना नभइ धेरै मानिस जीवनशैली बदल्ने चाह राख्दैनन् ।

विभिन्न ब्यापारिक कारणले पोषणबारेको भ्रामक जानकारीले गर्दा सही जीवनशैली अंगीकार गर्न अन्योल परेको केही मानिसलाई देख्न पनि सकिन्छ ।

खानाको उत्पादन तथा उपभोगमा पश्चिमी मुलुकहरुले अख्तियार गरेको नीति तथा प्रविधि विकासले प्राय विश्वभर नै अहिले प्रभाव परेको छ । पश्चिमी मुलुकको खाना भनेको ठूलो मात्रामा प्रशोधित खाना, मासु, धेरै चिल्लो, दुध तथा यसका परिकार, उच्च चिनीयुक्त खाना र प्याकेटमा रहेको तयारी खाना भनेर चिनिन्छ । यसलाई ‘स्टयान्डर्ड अमेरिकन डाइट’ भनेर पनि चिनिन्छ । यस्तो खानाको लहर संसारभर फैलने क्रम जारी छ।

यस्तो खानाले कार्डियोभास्कुलर (मुटु तथा संचार रोग जस्तै स्ट्रोक), मधुमेह, क्यान्सर, डिमेन्सिया जस्ता रोग लाग्ने मात्र नभएर ठूलो सख्यामा मानिसहरु डिप्रेसनको शिकार भइरहेका छन् । पश्चिमी फास्ट फुड रेस्टुराहरु खुल्ने क्रम जारी छ । यस्ता फास्ट फुड या जंक फुड मानिसको स्वाद मिल्दो बनाइएको हुन्छ र यो नसादार हुन्छ । यस्तो खानाको बानी परेपछि बच्चादेखि बृद्दसम्म धेरैलाई यो खाना छोड्न निकै कठिनाई हुन्छ । पोषण सम्बन्धी मानिसमा एकिन जानकारीको पनि कमी छ ।

संसारभर दीर्घरोगले ग्रसित हुने क्रम द्रुत गतिमा भइरहेको छ । यसको खास कारण खोतल्न पोषणको इतिहासतर्फ फर्कन जरूरी छ । मानव खानाको विकासको समयक्रममा वर्तमानसम्मको घटना केलाउने हो भने यस्ता रोगहरुको आगमन कसरी भयो भनेर बुझ्न सजिलो हुन्छ ।

खानाको केही उल्लेख्य विकासक्रम

संसारका हरेक प्राणीले खानु पर्छ । सबै जीवहरुको खानाको आ-आफ्नो विशेषता छ । मानव विकासको क्रम सँगै जंगली तथा शिकारी युगबाट करिब १०/ १२ हजार वर्ष अघिदेखि मानिसले कृषि गर्न थाले । शिकारी युगमा पशुको शिकार गर्न सजिलो थिएन। औसतमा १९ पल्टको कोशिसमा मात्र एउटा शिकार गर्न सक्दथे । त्यसैले मासु भन्दापनि बनस्पति, फलफूल, फूल, बोक्रा, किरा, फट्यान्ग्रा आदि धरै खान्थे ।

करिब २५ लाख वर्षको मानव विकास क्रममा लामो समयसम्म अहिले भएका हाम्रो नजिकको वंशाणु (डीएनए) सम्बन्ध रहेको चिम्पान्जी तथा गोरिल्लाको जीवनशैलीसंग मिल्दोजुल्दो थियो ।

कृषिको विकाससंगै माटोसंगको सम्बन्ध गहिरो बन्न पुग्यो र उत्पादन बढ्न थाल्यो । कृषिले गर्दा सामाजिक सम्बन्ध विस्तार हुन थाल्यो । यस्तै अवस्था झण्डै अठारौं शताब्दीको औद्योगिक क्रान्तिसम्म चल्यो । औद्योगिक क्रान्तिले ठुला स्टील मिलको स्थापना भई खाद्यान्न पिन्न निकै सरल बनायो । यस्ता प्रविधि विकासले होलग्रेनको बदला पीठो पिसेर चिनी तथा तेल मिसाएर अनेक परिकार बनाई खाने प्रचलन निकै वृद्धि हुन थाल्यो ।

औद्योगिक क्रान्तिले शहरीकरण बढायो । औद्योगिक क्रान्तिले माटो, पशु तथा प्रकृतिको शोषण गर्न शुरू गर्‍यो । रेल, मोटरकार, फ्रिजको आविष्कारले यातायातको आधुनिक रूप ल्यायो । मासु तथा दुध टाढा दुरीसम्म पनि ढुवानी गर्न सकिने भयो । खेतीका लागि ठूला ब्यापारिक केन्द्रको शुरुवात भई ब्यवसायिक खाना बनाउने कम्पनीहरु अगाडि बढे र खानाको प्याकेज गर्न शुरू गरियो ।

सन् १८७० मा ठूलो क्यान फुडको फ्याक्ट्री खोलियो र पाश्चराइजेसन (स्टरलाइजेसन गरी खानालाई सुरक्षित तथा गुणस्तर बढाउन) गर्ने काम शुरूवात भयो ।

यसपछि प्रोसेस खानाको आगमन भयो र खानाको बजारीकरण तेजले बढ्न थाल्यो । सन् १९३८ मा अमेरिकी सरकारले दुध, सुँगुर, कुखुरा, गहूँ, मकै, कपास उत्पादन गर्ने किसानलाई निर्धारित मुल्य तोकि सुरक्षा प्रदान गर्न एग्रीकल्चरल ऐडजन्मेन्ट याक्ट ल्यायो। यसले उत्पादन बढाउन ठूलो मद्दत गर्‍यो ।

पहिलो विश्वयुद्दपछि खानाको संस्कार परिवर्तन गरायो । यस युद्दमा लड्न जाने सिपाहीको खाना पर्याप्त मापनका लागि क्यालोरीको शुरूवात गरियो । दोस्रो विश्वयुद्धको समयमा न्यूयोर्क टाइम्स पत्रिकाको मुख्य खबर ‘यो युद्ध भनेको यस भूमिको जुनसुकै दुकानमा गएपनि आफुलेचाहेको सामान किन्न सक्ने हो । प्रत्येक ताप्केमा मासु हुनु हो’ भन्ने थियो ।

सन् १९४० को दशकमा ब्यापारिक पशुपालन युद्धको अगाडि करिब ७ करोडबाट बढेर १४ करोड पुगेको थियो र अहिले संसारभर करिब ७० अर्ब पशुपन्छी खपत हुन्छ । यस अवधिमा मकैको दानाको प्रारम्भ गरी पशुलाई खुवाउन शुरूवात गरियो । दानाले गर्दा पशुको पाचन शक्तिमा परिवर्तन भएकाले यसलाई सहयोग गर्न पशुलाई एन्टीबायोटिक दिन थालनी गरियो । दानाखाने पशुको मासु या दुधमा घाँस खाएको जस्तो पौष्टिकता हुदैन ।

सन् १९४८ मा मेशिनद्वारा दुध दुहने प्रविधिको आविश्कार भयो । यसै बर्ष झिँगा मार्नका लागि डिडिटीको प्रयोग गरियो । यसको आविष्कार गर्नेलाई नोबेल पुरुस्कार पनि दिइयो । फास्ट फूडका साथै ठूलो खाना बनाउने मेशिनहरुको विकास भयो ।

खाना लामो समयसम्म खपत होस् भनि प्रिजरभेटिभ तथा खानालाई स्वाद बढाउन अजिनोमोटो अर्थात मोनोसोडियम ग्लुकोमेट (एमएसजी) खानामा हाल्न थालियो । नाइट्रोजन मलको (रासायनिक) प्रयोग भएपछि कृषिमा उत्पादन धेरै बढ्यो । यस मलले गर्दामा बिरुवाहरु कमजोर हुन पुगेपछि किराहरुले नोक्सान गर्ने थाले । यि किराहरु मार्न हर्बीसाइड र पेस्टासाइडको प्रयोग गर्न शुरूवात भयो । हर्बीसाइडसंग सामना गर्ने गरी हाइब्रिड बनस्पतिको विकास गरियो ।

युद्ध कोशको प्रयोग गरी अमेरिकाका ११ ठूला औषधि बनाउने कम्पनीहरुलाई औषधि बनाउने जिम्मा दिइयो। यस बखत भिटामिनका चक्कीहरुको शुरुवाट भयो । यस्ता चक्कीहरुले मानिसलाई गलत सन्देश दियो। उदाहरणका लागि फोलिकएसिडको चक्कीलाई लिन सकिन्छ । शरीरका लागि अति आबश्यक फोलिक एसिडको श्रोत भनेको साग, ब्रोकाउलीजस्ता सागसब्जी, गेडागुडी, सूर्यमुखी बियाँ आदि हुन् । तर यस्तो खाना खान छोडेर मानिसहरु फोलिक चक्कीको भर पर्दा नवजात शिशुदेखि सबैको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।  

बढ्दो मुटुरोग, स्ट्रोक, क्यान्सर, मधुमेह आदि रोगरूलाई मध्येनजर गर्दै सन् १९७७ मा अमेरिकामा म्यकगोभरन कमिटीले मासु तथा दुध (डेरी प्रडक्ट ) लाई कम खान सल्लाह दियो र पोषणको बारे चर्चाको भयो  । सन् १९८२ मा अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सले पोषण भाषाको परिचय गरायो । कोलेस्ट्रोल, फाइबर, फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, एन्टीअक्सीडेन्ट जस्ता शब्दहरुको प्रयोगले धेरैमा अरु भ्रम सिर्जना गर्‍यो।        

अमेरिकी कृषि मन्त्रालयले सन् १९०० देखि २००० बीचको सय वर्षको अवधिमा प्रति ब्यक्ति अमेरिकीले उपभोग गरेको औसत खानाको तथ्यांक उपलब्ध गराएको छ । जसमा चिनीको उपभोग २८ गुणा वृद्धि भएको छ ।

सन् १९०० मा दुई दशमलव  ३ किलो चिनी प्रत्येक ब्यक्तिले वार्षिक उपभोग गर्थे भने सन् २००० मा यो अनुपात ६४ किलो छ । त्यसै तेल या चिल्लो २ किलोबाट बढेर ३४ किलो र् सफ्ट ड्रिक्स सून्यबाट सय वर्षको अन्तररालमा प्रति ब्यक्ति औसत २०० लिटर वार्षिक पुगेको छ । यति धेरै क्यालरी उपभोग मोटोपन तथा दीर्घरोग बढाउने प्रमुख कारक हो ।      

खानाको विकासक्रमले दिएको सन्देश

यसरी हेर्दा औद्योगिक क्रान्ति पछि शुरुवात गरिएको आधुनिक खानाको आविश्कारले खानाको पोषणमा ह्रास गराएको छ । उत्पादन हुने माटोमा अनेक रासायनिक मल तथा बिषादी प्रयोगले खानाको गुणस्तरमा भारी प्रभाव पारेको छ ।

सन् १९५० को एउटा स्याउ खादा पाइने आइरन अहिले पाउन २६ वटा स्याउ खानुपर्छ । जेनेटिक मोडीफाइड गरिएको, माटोको गुणह्रास, पेस्टासाइटको उपयोगले खानाको पोषणमा कमी आउनुका साथै टक्सिक (विषाक्त) भएको छ ।

कृषि युगमा प्रवेश हुनु अगाडि करिव दुईलाख पुस्ता जंगलीयुगमा नै रहेका थिए । कृषिको विकास गरेको पुस्ता वर्तमानसंग हेर्दा करिब ६०० हुन पुग्छ । औद्योगिक क्रान्तिपछिको पुस्ता भए जम्मा १० मात्रै छ । यसरी मानव विकासको क्रमलाई २४ घण्टा समयको कसीमा राखेर हेर्दा कृषि युगबाट वर्तमानमा आइपुगेको ४ मिनेट तथा औद्योगिक क्रान्तिबाट एक मिलिसेकेण्ड मात्र हुन्छ । यति छोटो अवधिमा हाम्रो वंशाणु ( जिनेटिक्स) ले विकासको क्रममा अगाडि बढ्न पर्याप्त समय पाएको छैन ।

अहिले विकास गरिएको प्रशोधित खानाले मानव खानाका लागि प्राकृतिक रुपले ग्रहण गर्न अर्को एक लाख पूस्ताले उपभोग गरेपछि मात्र हाम्रो शरीरका लागि उपयुक्त हुन सक्ने जिकिर गर्न सकिन्छ । हाम्रो जिनेटिक्स वातावरणसंग समानान्तर रुपले अगाडि नबढेकोले यस्तो धेरै क्यालोरीयुक्त खाना हाम्रो शरीरले थेग्न नसकेर नै मुटुरोग, क्यान्सर, मधुमेह जस्ता दीर्घरोगले मानिसहरु पीडित हुने क्रम जारी छ । हामीले हाम्रो खाना, वातावरण तथा जीवनशैली यति चाडै बदली हाम्रो जिनेटिक्सले सम्हालन सक्छ भन्नु नै गलत हो ।  

कस्तो पोषणयुक्त खाना खाने ?

जस्तो प्रकृतिले दिएको छ त्यही अनुरूप बनस्पति प्रधान खाना खानु पर्छ । सागसब्जी, होलग्रेन अन्नहरु, बेरीहरु (स्ट्रोबेरी, काफल, जामुन) नट्स र बियाँहरु, गेडागुडी जस्ता खाना पोषणयुक्त हुन्छन् । मासुमा हुने स्याचुरेटेट फ्याट तथा मासु प्रोटिनले बढाउने हार्मोन इन्सुलिन लाइक ग्रोथ फ्याकटर-१  (आइजिएफ-१) रोगको जोखिम बढाउने कुरा प्रमाणित भइ नै सकेको छ । उत्तम स्वास्थ्यका लागि शाकाहारी आहार श्रेयकर हुने यथार्थ बुझ्न जरूरी छ । तर, तेल र नुन भने वर्जित गर्नुपर्छ ।

दीर्घ रोगको जोखिमका खास चालकहरुको गति कम गर्नका लागि वनस्पति प्रधान खानाको प्रभावकारिता छ । खास दीर्घ रोगको जोखिम निम्न छन् ।

आन्तरिक सुनिनु (इनफ्लमेसन) :

निम्न श्रेणीको दीर्घ आन्तरिक सुनिने कारणले हुने जोखिम कार्डियोभास्कुलर (मुटु तथा संचार) रोग हो । इनफ्लमेसनले नलीभित्र बोसो जम्मा हुने प्रक्रिया रोक्ने ( फाईब्रोस क्याप) लाई कमजोर बनाउंछ जसले गर्दा बोसो जम्मा भई रक्त नलीमा रगत आपूर्ति गर्न ब्यवधान गर्छ अनि ह्रदयाघात तथा स्ट्रोकको जोखिम बढ्छ र यस नली फुट्ने संभावना पनि बढ्छ ।

इनफ्लमेसनले इन्सुलिनले दिमागको संकेतलाई हस्तक्षेप गर्नुको साथै इन्सुलिन प्रतिरोध बनाई मधुमेहको जोखिम बढ्छ । इनफ्लमेसनले ट्युमर बढाउन मद्दत गर्नुका साथै डीएनएको मर्मत गर्ने प्रोटिनलाई नोक्सान पार्छ ।  

अक्सिडेटिभ स्ट्रेस:

यसले प्रोटिन, डीएनए र सेल मेम्ब्रेनलाई नोक्सान गर्न उत्प्रेरित गर्छ । जसले गर्दा दीर्घ रोगको विकास साथै यसको जटिलता थप बढाउंछ । विभिन्न अनुसन्धानले लगातार शाकाहारी (भिगन) मानिसमा एन्टीअक्सीडेन्टको अवस्था मासु खानेको भन्दा निकै बढी देखाएको छ ।    

लाइपोटक्सिसिटी :

तन्तुबाहेक शरीरका ठूला अंगहरुजस्तै मुटु, कलेजो, प्यानक्रियाज, मांसपेशी आदिमा बोसो जम्मा हुनु हो । खासमा स्याचुरेटेट, ट्रायन्स फ्याट तथा प्रशोधित कार्बोहाइड्रेटको बढी उपभोगले मोटोपन बढ्ने हुन्छ । प्रशोधित कार्बोहाइड्रेटमा पनि अझ फ्रुकटोजसहितको चिनीले ग्लुकोजले भन्दा बढी बोसो बढाउंछ । भिगन जीवनशैली अनुसरण गर्ने मानिसको समूह सबैभन्दा कम मोटो हुनुको साथै स्याचुरेटेट फ्याट उपभोगको दर पनि न्यून छ ।    

डिस्बिओसिस:

पेटमा उचित किसिमको ब्याक्टेरिया नभएमा यसले स्वास्थ्यमा अनेक समस्याहरु निम्त्याउंछ । खराव ब्याक्टेरियाले जरूरी पोषणको आपूर्ति कम गर्छ । शरीरको प्रतिरक्षा कार्य कमजोर बनाउंछ । इनफ्लमेसन, अक्सिडेटिभ स्ट्रेस, अति मोटोपन तथा दीर्घरोगहरु बढाउंछ ।

सबैभन्दा प्रभावकारी पोषणको आदर्श भनेको सुरक्षित पोषणका तत्वहरु भएको खाना बढी खाने हो । यसको अर्थ फाइबर, फाइटोकेमिकलहरु, वनस्पति इन्जायम, स्टेरोल्सप्लान्ट, प्रि तथा प्रोबायोटिक्स जस्ता माइक्रोन्युट्रियन्सहरु बढी उपभोग गर्नु हो । यस विपरित स्याचुरेटेट र ट्रान्स फ्याट, प्रशोधित कार्बोहाइड्रेट, नुन, एनइयु ५ जिसी, टिएमएओ, धेरै तापक्रममा पकाइएको, प्रो अक्सीडेन्ट जस्ता खाना एकदम कम गर्नु पर्छ ।

फाइटोकेमिकल्स बनस्पति खानामा पाइने अर्गानिक तत्वहरु हो जसले रोग प्रतिरोध गर्नुका साथै समग्र स्वास्थ्यका लागि फाइदा पुर्‍याउंछ । यसले भविष्यमा हुन सक्ने क्यान्सरको जोखिम रोक्न सहयोग गर्छ । फाइटोकेमिकल्सको उदारहणहरु फ्लाभोनोइड्स, फिनोलीक एसिड, इसोफ्लाभोनेस, कर्कुमीन, आइसोथाइओसाइओनेट्स र कयारोटिनोइड्स आदि हुन् । 

एन्टीअक्सीडेन्टहरुले कोषहरुलाई नोक्सान गर्ने मलिक्युल (फ्री र्याडीकल्स) बाट बचाउंछ । एन्टीअक्सीडेन्ट र फ्री र्‍याडिकल्सबीच सन्तुलन राख्नु हाम्रो स्वास्थ्यकका लागि महत्वपूर्ण हुन्छ ।

होलग्रेन अन्नमा फाइबरयुक्त ब्रान भन्ने बाहिर, एन्डोस्पर्म तथा जर्म भन्ने पोषणयुक्त तत्व हुन्छ भने प्रोसेस गरिएको सेतो अन्नमा एन्डोस्पर्म भन्ने बीचको माग मात्र रहन्छ । प्रशोधित गर्दा करिब ९० प्रतिशत फाइबर, ८० प्रतिशत मिनरल्स र ९५ प्रतिशत फाइटोकेमिकलहरुको नोक्सान हुन्छ । सबै होलग्रेन बराबर होइन । फापर, जौ, ओट, कोदो आदि अग्रणी होलग्रेन अन्नहरु हुन् । साधारण प्रशोधित कार्बोहाइड्रेटको उदाहरण चिनी, सिरप, जाम, जेली, क्यान्डी आदि हुन भने मिश्रित प्रशोधित कार्बोहाइड्रेटमा सेतो पीठोको परिकार, सेतो भात, पास्ता आदि पर्छ ।  

प्रशोधित कार्बोहाइड्रेटको अत्याधिक उपभोगले आन्तरिक सुनिने बनाउनको साथै मोटोपन, कलेजोमा बोसो हुने रोग, इन्सुलिनप्रतिरोध र मधुमेह, उच्च ट्राइग्लिसराड तथा मुटुरोग लाग्ने प्रवल जोखिम हुन्छ ।

उमारिएको गेडागुडी थप स्वास्थ्यकर हुन्छ । जब गेडागुडी अंकुरित हुन्छ, तब पोषण विरोधी तत्व टुट्छ र स्टोर गरिएको पोषण गेडागुडीको बृद्दिका लागि उपलब्ध हुन्छ । प्रोबायोटिक्स भनेको एकदमै सुक्ष्म जीवाणुहरु हुन् जुन खानाको माध्यमबाट पेटमा बस्छ र स्वास्थ्यलाई सकारात्मक असर पर्छ ।

त्यस्तै प्रिबायोटिक्स भनेको पेटमा बस्ने ब्याक्टेरियाका लागि खाने खाना हो । फर्मेन्टेसन गरिएका सब्जीहरु जस्तै किम्ची, टेम्फे, मिसो आदि खाना प्रिबायोटिक्सका उदाहरण हुन् । गोलभेडामा पाइने लाइकोपिनले प्यानक्रियाज, कोलोरेक्टर, स्तन, फोक्सोको क्यान्सरको जोखिम कम गर्छ । गेडागुडीमा इनोसीटोल पेन्टकिस्फोस्फेट (आइपी -५), प्याजमा एलिनेग (ताप अनुरूप हुने इन्जायम), सल्फाइड, फ्लाभोनोइड्स, च्रओमियम, क्युरेटिन, फ्रुक्टोओलीगोसअचारिड्स अनि च्याउमा एन्जियोजेनिसिस प्रतिरोध, एरोमेटेज प्रतिरोध क्यान्सर हुन नदिने अति लाभदायीपोषणका तत्वहरु पाइन्छ । यस अलावा शरीरलाई चाहिने भिटामिन डि, बि१२, आयोडिन, ओमेगा-३ जस्ता भिटामिन तथा मिनरलको पूर्णता हुनुपर्छ ।

जीवनशैली परिवर्तन भनेको पहिलो आफ्नो बारेमा परिवर्तन आइ दिमागमा अठोट गरेपछि गर्न सकिने कुरा हो । स्वयं सुधारिने तथा निरन्तर ज्ञान लिई आत्मबल उच्च राखी दीर्घकालीन रुपमा जीवनशैली परिवर्तन गर्न सकिन्छ । खाना खाएर मात्र आनन्द आउने भनेको उद्देश्य बिनाको जीवन हुन पुग्छ । यसमा पनि झन् भावनात्मक खाने बानीले मनोविकार अरु बढाउंछ ।

क्षणिक आवेशमा आएर छोटो अवधिका लागि गरिने डाइटिङको कुनै फाइदा हुदैन । जीवनशैलीमा सधैं ढाल्न नसकिने अल्पकालीन डाइटिङको समाप्ति पछि फेरि पुरानै बानीमा फर्कदा शरीरको भिस्सेरियल फ्याट अरु बढ्न जान्छ जुन फ्याट पेटको गहिराइमा हुन्छ, जहाँ शरीरका मुख्य अंगहरु छन् ।    

स्वस्थ्यकर जीवनशैलीका लागि निम्न तरिका अपनाऔं:

१. वनस्पति प्रधान होलग्रेनलाई आफ्नो खानाको आधार मानौँ: सलाद, सागसब्जी बढी खाऔं । गेडागुडी, प्याज, च्याउ, होलग्रेन अन्न, ४० ग्राम नट्स तथा बियाँहरु नियमित खाऔं । मसालाको प्रयोग गरौं ।

२. प्रोटिनका लागि जनावरबाट पाइने भन्दा वनस्पतिलाई रोजौँ ।

३. खराब चिल्लोको बदलामा स्वास्थ्यकर छानौँ । नुन, तेल र चिनीलाई लगाम लगाऔं ।

४. पोषणका सुरक्षित तत्वहरु बढी खाऔं ।

५. प्रदुषित तत्वहरु जस्तै किटनासक औषधि अरु बिषादी हालिएको खानाको सट्टा अर्गानिक खाऔं ।

६. शरीर पातलो र तन्दुरुस्त राखौं ।

७. आफ्नो स्वास्थ्यमा जागरूप होऔं ।  

(बेलायतवासी लेखक आचार्य ‘कोरोनरी मुटुरोग -२०१०’ पुस्तकका लेखक हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू