शनिबार, मंसिर २९, २०८१
16:04 | २१:४९

राष्ट्रपतिले प्रदान गरे राष्ट्रिय चलचित्र पुरस्कार

नेपाली लिङ्क नोभेम्बर २७, २०२४

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गरेका छन् ।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने– ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरूलाई आह्वान गर्दछु । यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले ठूला विषयवस्तु भन्दा गाउँ समाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताए ।

उनले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे ।

राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नवीनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाइमा पुरयाउने बताए।

सो अवसरमा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई ३ लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू