शनिबार, मंसिर २९, २०८१
15:48 | २१:३३

नेपाल पहिलोपटक महिला यु–१९ टी–२० विश्वकपमा छनोट

नेपाली लिङ्क नोभेम्बर १३, २०२४

काठमाडौँ- नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो । नेपालले ३.९३५३ रन रेट राख्यो । युएईले ३.७४०३ रन रेट बनायो ।

फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

जितसँगै ६ खेलबाट १० अङ्क बनाएको नेपाल शीर्षस्थानमा रह्यो । समान १० अङ्क बनाएको युएई रन रेटमा पछि परेको हो ।

नेपाललाई विश्वकपमा स्थान बनाउन युएईलाई १६.२ ओभरमै हराउनुपर्ने बाध्यता थियो । जसमा नेपाल अगाडि नै सफल भयो । अन्तिम खेलमा आएर घरेलु टोलीले नेपालको दबाब थेग्न सकेन ।

युएई यसअघिका पाँच खेलमा विजयी भएको थियो । युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो ।

यस्तै यसअघि नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो । नेपालले युएईसँग अघिल्लो खेलमा हारेको बदलासमेत लियो ।

नेपालका लागि ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक अविजित ३५ रन बनाइन् । यस्तै कप्तान पूजा महतोले २१, सोनी पाख्रीनले अविजित १३ र ओपनर सावित्री धामीले १२ रन बनाए । बलिङमा युएईकी मेहाक ठाकुरले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाइन् ।

यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०-१० रन बनाए ।

बलिङमा नेपालकी कृष्णा गुरुङले चार ओभरमा १७ रन खर्चिएर चार विकेट लिइन् । रिया शर्मा र सीमा केसीले दुई दुई तथा रचनाकुमारी चौधरीले एक विकेट लिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू