सोमबार, कार्तिक १९, २०८१
16:56 | २२:४१

पोखरामा पहिलोपटक हुंदै अन्तरराष्ट्रिय बेलुन महोत्सव

नेपाली लिङ्क अक्टोबर ३१, २०२४

लन्डन- नेपालमै पहिलोपटक सुन्दर पर्यटकीय नगर पोखरामा अन्तरराष्ट्रिय बेलुन महोत्सव हुने भएको छ ।

पोखरामा विगत ६ वर्षदेखि हट एअर बेलुन सञ्चालन गर्दै आएको बेलुन नेपालको आयोजनामा आगामी डिसेम्बर अन्तिम साता महोत्सव तयारी गरिएको छ ।

बुधबार बेलुका आयोजक बेलुन नेपाल र इभेन्ट संयोजक करिज्माटिक इभेन्टका प्रतिनिधिले लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा बेलायतको नेपाली समुदायका अगुवाहरुमाझ महोत्सवबारे जानकारी गराए ।

डिसेम्बर २४ तारिख शुरु हुने ९ दिने महोत्सव जनवरी १ तारिख अंग्रेजी नयाँ वर्षका दिन समापन हुनेछ ।

महोत्सवको संयोजक कम्पनी करिज्म्याटिक इन्टरटेनमेन्टका प्रमुख सुरेश तण्डुकारले नेपालमै पहिलोपटक आयोजना हुन लागेको अन्तरराष्ट्रिय बेलुन महोत्सव सफल बनाउन तीव्र तयारी भइरहेको जानकारी गराए ।

महोत्सवमा नेपालसहित विभिन्न २० बढी मुलुकबाट १ लाख ५० हजार बढीको सहभागिता अपेक्षा गरिएको छ। ५ सय रोपनी क्षेत्रफलमा आयोजना हुने महोत्सवका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ३० भन्दा बढी हट एअर बेलुनहरु व्यवस्था गरिएको छ ।

महोत्सवमा हट एअर बेलुन उडानका लागि बेलायत, स्पेनहित युरोपेली देशहरुबाट समेत दक्ष र अनुभवी बेलुन पाइलटहरु ल्याइने तण्डुकारले बताए ।

‘हेल्थ एण्ड सेफ्टी’ का लागि समेत भरपर्दो प्रबन्ध मिलाइएको भन्दै उनले यात्रुको लागि २० हजार डलरको बीमा गराइने जानकारी दिए ।

महोत्सवमा खाना, व्यापार तथा खेलकुदलगायतका विभिन्न १ सय बढी स्टल रहनेछन् भने २० भन्दा बढी राष्ट्रिय स्तरका चर्चित कलाकारले मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि दिनेछन् ।

चिनियाँ कम्पनी बी वाई डी प्रमुख प्रायोजक रहेको उक्त महोत्सवमा महानायक राजेश हमाल तथा नायिका प्रियंका कार्की कार्यक्रमको ब्रान्ड एम्बेसडर रहेको पनि उनले जनाए।

कार्यक्रममा बेलुन नेपालका सहसंस्थापक एवम् निर्देशक रहेका बेलायतस्थित व्यवसायी दीपक श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु महोत्सवको प्रमुख लक्ष्य रहेको बताए । महोत्सवले साहसिक पर्यटन गन्तव्यका रुपमा पोखरामा देश विदेशका थप पर्यटकहरु आकर्षित गर्न सफल हुने विश्वास उनले व्यक्त गरे ।

६ वर्षअघि नेपालमै पहिलोपटक सञ्चालन गरिएको हट एअर बेलुन हालसम्म पूर्ण सुरक्षित रहेको जनाउँदै श्रेष्ठले निर्धक्क बनेर महोत्सवमा सहभागी हुन र बेलुन उडानको आनन्द लिन सबैलाई आग्रह गरे।

‘हटएअर बलुन उदाउँदा हामीले यात्रु तथा चालकको सुरक्षालाई उच्च प्राथमिकता दिन्छौं र नागरिक उड्डयन प्राधिकरणले तोकेका सबै नियमहरु पालना गर्छौं’, श्रेष्ठले भने,  ‘नौ हजार फिटको उंचाईबाट धौलागिरी, माछा पुच्छ्रे, फेवाताल लगायत पोखराको मनोरम दृश्य हेर्न पाइने यो अवसर अविस्मरणीय हुन्छ।’

उनले उक्त फेस्टिभल आयोजना गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, एनआरएनए, पोखरा महानगर लगायतसंग आफुहरुले सहकार्य गरि रहेको जनाउंदै फेस्टिभल सफल पार्न आआफ्नो ठाउंबाट सहयोग गर्न आग्रह पनि गरे।

सो अवसरमा लन्डन रोयल ग्रीनवीच बरोका मेयर जीत रानाभाट, एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्य, बिएनसीसी पूर्व अध्यक्ष राजन कंडेल, बिएनसीसी वरिष्ठ उपाध्यक्ष एवम् ट्राभल व्यवसायी बिराज भट्ट, व्यवसायी यादव भण्डारी, वरिष्ठ पत्रकार भगीरथ योगी, पत्रकार महासंघ यूके पूर्व अध्यक्ष ध्रुवराज अर्याललगायतले महोत्सव सफलताको शुभकामना दिए ।

उनीहरुले बेलुन उडानका लागि भरपर्दो सुरक्षा बन्दोबस्त मिलाएर इच्छुक पर्यटकलाई आश्वस्त पार्न सके महोत्सव सफल बन्ने सल्लाह पनि दिए ।

बेलुन नेपालमा विक्रम बाँडे संस्थापक एवं अध्यक्ष छन् भने दीपक श्रेष्ठ सहसंस्थापक/ निर्देशक, सविन महर्जन प्रवन्ध निर्देशक तथा विष्णु ढकाल र रोबर्ट विश्वकर्मा निर्देशक छन्।

महोत्सवबारे थप जानकारी आयोजक बेलुन नेपालको वेबसाइटमा उपलब्ध छ।

तस्विर: शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू