इन्डियन-नेपाली फ्युजनमा लोकप्रिय बन्दै ‘द गोर्खा नान’ (भिडियो)
लन्डन । गत वर्ष सेप्टेम्बर ३० मा ‘द गोर्खा नान’ ओपनिङ गर्दा हेड सेफ एवं सञ्चालक विष्णु थापाले निकै जोखिम मोलेका थिए । शुरुमा अर्कै नाम र व्यवस्थापनमा चालु रेष्टुरेन्टको व्यवसाय राम्रो थिएन । जिरोबाट शुरु गर्नुपर्ने बोझ थियो ।
४–५ महिना त गाह्रो नै भयो उनलाई । तर, वर्ष दिन पुग्न लाग्दा अहिले रेष्टुरेन्टले ‘पिक अप’ राम्रो लिएको छ । दोहोरयाएर आउने ग्राहक संख्या बढेको छ ।
‘गोर्खा नाम र नेपाली भनेपछि स्थानीय ग्राहकले अर्कै रुपमा लिने रहेछन्’, क्रोयडन नजिक पर्लीमा रहेको गोर्खा नानमा एक सांझ थापाले सुनाए, ‘रेल स्टेशन नजिकै लोकेशन र पहिला म त्यही ठाउंमा काम गर्दा बनेको रिलेसनले अहिले कष्टमर खोजी खोजी आउन थालेका छन् ।’
४० देखि ५० जना सिट क्षमताको ‘गोर्खा नान’ सोमबारबाहेक सबै दिन दिउसो २ देखि राती ११ बजेसम्म खुल्छ । डिमाण्ड बढिरहेकाले भविष्यमा सातै दिन र लञ्च टाइम पनि खोल्ने योजनामा छन् विष्णु ।
‘नान भन्ने बित्तिकै यो भारतीयले मात्र खान्छन् भन्ने भाष्य चिर्न मैले गोर्खा नान नाम राखेर गोर्खाले पनि नान खान्छन् भन्ने देखाउन चाहेको हुं’, उनी प्रष्ट्याउंछन् ।
इन्डियन एण्ड नेपलिज फ्युजन खानाका लागि प्रख्यात गोर्खा नानले बटर चिकन, गोर्खा लाल मास (घरमा बनाएजस्तो हण्डीमा पकाउने), समोसा चाट, चिल्ली ममः, चिकन लली पप, आलु टिकी चाट, गोर्खा मिक्स दम बीरयानी, ल्याम्ब चप, सालमन टिक्का आदि कुजिनबाट ग्राहक मन जितिरहेको छ ।
अन्यत्र रेष्टुरेन्टमा नपाइने किङ बाइट म्याङ्गो (आंपको ससमा किङ प्राउन), तावा फिस वीथ क्रिप्सी ओक्रा, होली बसिल डक र भेजमा तन्दुरी ब्रोकली धेरै रुचाइने खानामा पर्ने मेन सेफ तथा सञ्चालक थापाको भनाइ छ । नेपालबाटै ल्याइएका दक्ष सेफले खाना स्वादिष्ट बनाउने थापाले बताए ।
अहिले रेष्टुरेन्टमा ७ जना काम गर्छन् । कुनै पनि सामाजिक, धार्मिक वा व्यक्तिगत सभा समारोह गर्नु परे आउटडोर क्याटरिङ समेत गरिने विष्णुले बताए । आउटडोर क्याटरिङको जिम्मा तुलसी क्याटरिङ र दुना टपरीलाई छ।
गोर्खा नानमा खानामात्र होइन्, एक दर्जन बढी ककटेल, मकटेल पनि उपलब्ध छन् ।
विष्णु सञ्चालक हुन् तर आफैं मिठो खाना बनाउंछन् । सन् २००४ देखि पकाउन थालेका उनको यस यात्रा हङकङबाट शुरु भएको थियो । हङकङ जानुअघि नेपालमा ६ महिना वेटर तालिम समेत लिएका उनी सन् २००९ मा बेलायत आए । बेलायत आएको डेढ दशकमा थापा अहिले दुईवटा रेष्टुरेन्टका मालिक भइसकेका छन् ।
चुनौति कति छ यो व्यवसायमा ? उनले सुनाए, ‘अहिले जताततै संकट छ भन्ने सुनिन्छ । तर मेरो नयां व्यवसाय भएपनि चित्तबुझ्दो छ ।’
कष्टमर सर्भिस्, फुड हाइजिन र कन्सिसटेन्सी तीन मुख्य कुरामा ध्यान दिएका कारण यस व्यवसायमा पछाडि फर्कनु नपरेको उनी बताउंछन् । ‘रेष्टुरेन्ट खोलेरमात्र हुन्न । मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले अलिक बढी सचेत हुन आवश्यक छ’, उनले भने ।
नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न विदेशमा रहेका रेष्टुरेन्ट व्यवसायको ठूलो भूमिका हुने उनको विश्वास छ ।
हेरौं नेपालीलिंकको भिडियो रिपोर्ट:
थप तस्विर:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५