मंगलबार, १७ मार्च, २०२६
19:56 | ०१:४१

गोर्खाहरुको माग पूरा गर्न १९ जना बेलायती सांसदले लेखे भेट्रान मन्त्रीलाई पत्र

नेपाली लिङ्क मार्च १७, २०२६

लन्डन । बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र लेख्दै सो आग्रह गरेका हुन् ।

नेपाल नयाँ सरकार गठनसँगै अगाडि बढ्न लागिरहंदा अहिले दुई राष्ट्रहरूबीचको दिगो सम्बन्ध पुनः पुष्टि गर्ने एक अद्वितीय अवसर प्राप्त भएको उल्लेख गर्दै सांसदहरुले पत्रमा मन्त्री जोन्सलाई नेपालका नयाँ प्रधानमन्त्री र उनको टिमसँग निकट रहन, भूतपूर्व गोर्खा सैनिकहरूले लामो समयदेखि राख्दै आएका मुद्दा सम्बोधन गर्न, विशेष गरी उनीहरूको सेवाको उचित कदर एवं थप कल्याणका लागि सहकार्यमा यो क्षण सदुपयोग गर्न सुझाएका छन् ।

‘अहिले बेलायत–नेपाल सम्बन्धमा नयाँ अध्याय निर्माण गर्ने एक रोमाञ्चक अवसर पनि हो’, पत्रमा भनिएको छ, ‘यसले रक्षा र भेट्रान सैनिकको कल्याण सन्दर्भमा मात्र नभई हाम्रो व्यापारिक सम्बन्ध विकास, नेपालको निरन्तर विकास र समृद्धिमा हाम्रो सहकार्यलाई सुदृढ बनाउनेछ ।’

दुई देशबीचको निकट सम्बन्धलाई बढावा दिंदै साझा विश्वव्यापी चुनौतीहरूको सामना गर्न र पारस्परिक हितहरू अगाडि बढाउन एकअर्कालाई सहयोग गर्न सकिने पनि पत्रमा उल्लेख छ ।

‘हामी विश्वस्त छौं कि तपाईंको नेतृत्वमा बेलायत र नेपालले अझ बलियो साझेदारी निर्माण गर्न सक्छन्, जसले गोर्खाहरूको विरासतलाई सम्मान र ब्रिटिश समाजमा उनीहरूको निरन्तर योगदानलाई समर्थन गर्दछ’, पत्रमा भनिएको छ ।

पत्रमा सांसदहरुले मन्त्री नियुक्त भएदेखि नै मन्त्री जोन्सले नेपाल सरकार, विभिन्न गोर्खा संगठनका प्रतिनिधि सम्मिलित जी १० समूह र गोर्खा भेट्रानहरूसँग संलग्न हुन गरेको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद समेत दिएका छन् । गोर्खा समुदायलाई सहयोग गर्ने मन्त्रीको नेतृत्व र समर्पणको धेरै प्रशंसा गरिएको पनि पत्रमा उल्लेख छ ।

विश्वव्यापी महत्त्वका मुद्दाहरूमा सँगै काम गर्ने प्रतिवद्धतासहित संयुक्त अधिराज्य (यूके) र नेपालले पारस्परिक सम्मान र सहयोगको समृद्ध इतिहास निर्माण गरेको उल्लेख गर्दै पत्रमा दुई देशबीचको जग गोर्खा समुदायको सेवामार्फत मजवुत भएको पनि उल्लेख छ ।

गोर्खाहरुले संयुक्त अधिराज्यको रक्षा र सुरक्षामा योगदान मात्र नगरि बेलायतभरका नेपाली समुदायले स्वास्थ्य, शिक्षा, आतिथ्य र रिटेल जस्ता क्षेत्रहरूमा बहुमूल्य योगदान गरेर ब्रिटिश समाजलाई अनगिन्ती तरिकाले समृद्ध बनाएको पनि पत्रमा स्मरण गराइएको छ ।

पत्र-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू